पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसम्म, केही मिनेट धान रोपेर औपचारिकता पूरा गरे(फोटोफिचर)


काठमाण्डौ ।

मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा परिचित असारको मध्य अवस्थामा आईपुग्दा किसानलाई रोपाई गर्न भ्याईनभ्याई छ । अझ धान रोपाइँ मध्यमा पुगेको बेला असार १५ गते दअि चिउरा खाने र रोपाई गर्ने , त्यसमा पनि धान दिवसका रुपमा मनाइने भएकाले यसलाई विशेष मानिन्छ ।

दही चिउरा खाएर मनाइने धान दिवसमा कृषकमात्रै खेतमा पस्दैनन् नेतादेखि सेलिब्रेटीसम्म खेतको हिलोमा पस्छन् । तर किसानहरु धान रोप्न हिलोमा पस्छन् भने नेतादेखि सेलिब्रेटी हिलोमा पसेर बाउसे गर्नेदेखि धानका दुई तीन गाज बेर्ना हिलोमा गाडेर फोटो र भिडियो खिच्न तछाडमछाड गर्छन ।

शुक्रबार पनि यस्तै दृश्य देखियो । कृषि मन्त्री चन्द्रदेव खनालले कपिलबस्तुको तिलौराकोटमा किसानसँग नाच्दै गाउँदै धान रोपे । प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले पाइन्ट सुर्किँदै भक्तपुरको खरिपाटीमा धान रोप्न पुगे ।

यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि काठमाण्डौको बूढानिलकण्ठमा पुगेर युवाहरुको रोपाइँमा सहभागी भका थिए भने प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेल पनि पाइन्ट सुर्किँदै हिलोमा पसेर धान दिवसमा सहभागी भए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा झापाको कमल गाउँपालिकास्थित एक कृषकको खेतमा पुगे भने प्रदेशस्तरका नेताहरु पनि सर्ट पाइन्टमा ठाँटिएर खेतमा केही मिनेट धान रोपेर औपचारिकता पूरा गरे ।

त्यस्तै नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पनि सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए ।

 


पोखरा पर्यटन परिषदद्धारा पोखराको लेखनाथ महानगरपालिका २४ पामेमा आयोजित १५औं असारे रोपाइँ महोत्सवको हिलोमा सायर उदघाटन गर्दै प्रदेश नं. ४ का उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल । तस्वीरः हरि बाँस्तोला

पोखरा पर्यटन परिषद्द्धारा पोखराको लेखनाथ महानगरपालिका २४ पामेमा आयोजित १५ औं असारे रोपाइँ महोत्सवमा एक आपसमा हिलो छ्यापेर असार १५ मनाउँदै स्वदेशी तथा विदेशीहरु ।

डडेल्धुरा अजयमेरु गाउँपालिका १ मा रहेको बालकल्याण माविका विद्यार्थीले १५औं धान दिवसको अवसरमा शुक्रबार विद्यालयस्थित डाँडोमा रोपाइँ गर्दै । तस्बिरः धनबहादुर भण्डारी

विराटनगर महानगरपालिका – १९ थानगाछीमा शुक्रबार आयोजित धान दिवस कार्यक्रममा धान रोप्दै नगर प्रमुख भीम पराजुली । तस्बिरः मनोज दाहाल

तुलसीपुर उपमहानगरपालिका कृषि कार्यालयले राष्ट्रिय धान दिवस असार १५ का दिन आयोजना गरेको रोपाइँ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीलगायतले धान रोप्दै । तस्वीर: बालाराम खड्का

नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेमा शुक्रबार १५ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुन आएका ११ जना अमेरिकी विद्यार्थी स्थानीयसँग हिलो खेलेर रमाउँदै । तस्वीर: नवदीप श्रेष्ठ

१५ औं राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ९ पातलगंगा सुर्खेतमा रोपाइँ महोत्सवमा धान रोप्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, कृषिमन्त्री विमला केसी तथा प्रदेशसभा सदस्यहरु । तस्बिर: शुरबहादुर सिंह

शनि, असार १६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया