विश्वकपमा आज पनि तीन खेल हुँदै


एजेन्सी, असार ६ ।
रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगितामा आज राति पनि तीन खेल हुँदै छन् । आज हुने पहिलो खेलमा समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को आमने सामने हुनेछन् ।

यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ । समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा समूह ‘ए’का दुई टोलीहरु उरुग्वे र साउदी अरबिया भिड्नेछन् । खेल पौने ९ बजे पछि रोस्तोव एरिनामा सुरु हुनेछ । पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबयिालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।

पहिलो खेलमा रुससँग फराकिलो हार भोगेको साउदी आज उरुग्वेलाई रोक्ने रणनीतिमा हुनेछ । समूह ‘बी’कै अर्को खेलमा आज स्पेन र इरानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार राति पौने १२ बजेदेखि काजान एरिनामा हुनेछ ।

यस अघि गएराति भएको खेलमा सेनेगल, जापान र रुस विजयी भएका छन् । सेनेगलले पोल्याण्डलाई पराजित गरेको हो भने जापानले कोलम्बियालाई पराजित गरेको हो ।
आयोजक रुसले भने इजिप्टलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्काे चरणमा प्रवेश गरेको छ । रुस प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इजिप्ट भने समूह चरणबाटै बाहिरीएको छ ।

बुध, असार ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया