मोदीले गरे मुक्तिनाथ मन्दिरको गोपनियता भंग, दोष कसको ?


-सागर लामा

भारतीय शासकलाई रिझाउन सरकारले हदैसम्मको गुलामी गर्न पछि नपरेको भन्ने नागरिक तहबाटै जारी आलोचना योपटक बढेर शिखरमै पुगेको विश्लेषण सहजै गर्न सकिन्छ ।
दुई दिने नेपालको धार्मिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि योपटक विभिन्न स्थानमा सरकारले अपनाएको उल्लंघनका घटनाले पनि गुलामीको हद नाघेको देखिएको छ । अर्को हिसाबले देशभित्रको अमूल्य सम्पदाको महत्व र गोपनियता भंग भएको छ । यो हरेक कोणले दुःखद् घटना हो ।
सामान्यतया मुक्तिनाथ मन्दिरको भित्री र परिसरमा रहेका मन्दिर र त्यसभित्र रहेका मूर्तिको तस्बिर लिन अनुमति कसैलाई छैन । पर्यटकीय दृष्टिकोणले तस्बिर खिचेर सामान्यकीकरण गर्नु नै मन्दिरको महत्व रहँदैन । अर्कोतर्फ राष्ट्रका केन्द्रीय पूरातात्विक मन्दिरको सुरुवाती (उत्पत्ति) र यसको स्वरुप खुला गरिनु अपराध मानिन्छ । त्यसैले मन्दिर ढोकाबाहिर नै तस्बिर लिन अनुमति नभएको सूचना टाँस वा लेखिएको हुन्छ । सूचनाले पात्रविशेष चिन्दैन । सूचनाले कसैलाई तस्बिर खिच्न दिने कसैलाई नदिने भनेर विभेद गर्दैन । समानता दर्शाउँछ । यस्तै सूचना मुक्तिनाथ मन्दिरमा टाँसिएको छ । तर सूचनाको अवज्ञा योपटक भएको छ ।


तर त्यही सूचनाका आधारमा मन्दिरमा खटिएका कर्मचारीले कसैलाई कसैलाई पनि तस्बिर खिच्न दिँदैनन् र खिचेको पाइएमा खिचिएको तस्बिर मेटाउन लगाउँछन् । यो घटना त्यहाँका पुगेका सर्वसाधारण र अन्य भक्तजन जोकोहीलाई अनुभव छ । त्यसैकारण सरकारको यस्तो विभेदकारी व्यवहारबाट देशभक्त नेपाली आक्रोशित भएका छन् । सरकार विदेशीको दलाल बनेको धारणा ह्वात्तै बढेको छ ।
तर योपटक उक्त सूचनालाई भारतीय प्रधानमन्त्री मोदीले धोती लगाउने काम गरे । मन्दिरको मुख्य पूजास्थलभन्दा बाहिरी क्षेत्रको समेत तस्बिर खिच्न अनुमति छैन । जुन सूचना तस्बिरमा देखिएका मोदीको पछाडिपट्टिको भित्तामा स्पष्टसँग देख्न सकिन्छ । सेतो रंगको भित्तामा रातो अक्षरले नेपालीमा ‘मन्दिरभित्र फोटो खिच्न मनाहि छ’ र अंग्रेजीमा ‘नो फोटो’ लेखिएको छ । जसलाई मोदीले घोर उल्लंघन गरेका छन् ।


यो कुराको हेक्का संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री रविन्द्र अधिकारीले राख्न सकेनन् वा सुनियोजित पात्रमध्येका उनी थिए । मन्त्री अधिकारी स्वयम् मुक्तिनाथमा मोदीको पूजापाठको समयावधिभर सहभागी थिए । मोदीले मुक्तिनाथको मुख्य मूर्तिको पूर्जा गरिरहँदा एक भारतीयले भिडियो खिचे । मोदी निर्धक्कले पूजापाठ गरिरहे । र, उनले आफूलाई अनुशासनहीन भक्तालुको कित्तामा दर्ज भए । यसरी मन्दिरको मुख्य स्थान र परिसरको पूरै भिडियो रेकर्ड गरेर आमसंचार माध्यमलाई बाँडियो । मन्दिरको गोप्य राखिँदै आएको सम्पूर्ण भाग श्रव्यदृष्य (भिडियो)मा विश्वव्यापी भयो ।


अहिलेसम्म विश्व पर्यटकको आकर्षण गन्तव्यको रुपमा परिचित यस मुक्तिनाथ मन्दिरको महत्व र गोपनियता अन्ततः विदेशी (भारतीय) योजनामा सार्वजनिक हुन पुगेको छ । यो एउटा स्वतन्त्र र सार्वभौम राज्यको अमूल्य सम्पत्ति हो । सरकारले निम्त्याएको आन्तरिक मामिलामाथि ठाडो विदेशी हस्तक्षेप हो ।
ओली सरकारले स्वीकार गरेको भारतीय शासकको ज्यादाति हो यो । चाकडी र गुलामीको उच्च नमूना हो यो । आन्तरिक गोपयिनतामाथिको चरम लापारवाही हो । त्यसकारण यस घटनाको विरोध देशभक्त नेपालीले गर्नु स्वभाविक हुन्छ । गर्नुपर्छ । तस्बिर खिच्न र सार्वजनिक गर्न निषेध गरिएका मन्दिरहरु देशभित्र थुप्रै छन् । जसको आज्ञाकारी भक्तजन भइरहेका छन् । उनीहरुले उल्लंघनकर्ता नबनेर मन्दिरको महत्व कायम राख्न सहयोग पुर्याइरहेका हुन्छन् । मुक्तिनाथ उनीहरु पालना गर्दै आइरहेका अनुशासनलाई मोदीले क्षणभरमै खाएदिए ।


यस घटनाले नेपाल सरकार मोदीको लागि जे पनि गर्न । दिन तयार छ भन्ने गलत सन्देश छाएको छ । यो क्षेत्र सम्हाल्ने जिम्मा पाएका सरकारका मन्त्री र अधिकारीहरुमाथि छानबिन गरेर दोषीमाथि डण्ड चलाउनु पर्छ । किनभने एकजना विशिष्ट विदेशी पाहुनाको भ्रमणलाई लिएर आफ्नो प्राकृतिक सम्पत्ति या सम्पदाको महत्वलाई ध्वस्त बनाउने अधिकार कसैलाई पनि हुँदैन ।
‘मन्दिरभित्र फोटो खिच्न मनाही’ सूचनाको घोर उल्लंघन गर्ने भारतीय र नेपाली अधिकारीमाथि कानूनबमोजिम कारवाही गर्नु नै सार्वभौम राष्ट्रको सम्मान हुनेछ । अन्यथा, भारतीय शासकसामू नेपाली शासकहरु सम्पसारवादी नै हुन् भन्ने नागरिकको धारणा भुसको आगोझैं फैलिनबाट कसैगरी रोकिने छैन ।- तस्बिर : प्रधानमन्त्री मोदीको ट्वीटरबाट

हेर्नुस् मोदीको भ्रमणका क्रममा खिचिएको भिडियो । जुन भिडियो प्रधानमन्त्री मोदीको आधिकारीक युटुव च्याानल PMO India बाट सार्वजनिक गरिएको छ

शनि, बैशाख २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया