राजनीति सम्भावनाको खेल हो,अन्धो भएर रोईरोई त एमालेसँग एकता हुँदैन: प्रचण्ड


३ बैशाख,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एकतापछि बन्ने पार्टी संरचनामा आफू तल बस्न नसक्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिएरै आफ्नो चरित्रले समेत कसैभन्दा तल बस्न नदिने बताए ।

पत्रकार गोकर्ण भट्टले लिएको अन्तरवार्ताको क्रममा प्रचण्डले भने, “संख्या सानो भएको हुनाले अब प्रचण्डको भूमिका वाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ । तर मेरो स्वभाव (नेचर) ले दिँदैन के तल बस्न । तल पर्नै दिँदैन, मेरो चरित्रले दिँदैन ।” उनले आफू अझै १० वर्ष सक्रिया राजनीति गर्ने बताए । “म ६४ भएँ, ७४÷७५ सम्म म एक्टिभ्ली नै गर्छु र राष्ट्रिय राजनीतिमा मेरो भूमिका बनाइराख्छु” प्रचण्डले अन्तरवार्ताको क्रममा भनेका छन् ।

प्रचण्डले आफूलाई त पार्ने खेल भएमा वा त्यसमा अवरोध गर्ने डिजाइन भए त्यो भत्काउन आफूलाई कुनै आइतबार नचाहिने बताए । उनले एमाले र माकेको एकता प्रक्रियालाई भत्काएर अगाडि बढ्न सक्ने गर्दै भने, “नेतृत्व कमजोर पार्ने डिजाइन देखेँ भने त्यो भत्काउन पनि कुनै आइतबार कुर्न पर्छ जस्तो लाग्दैन मलाई । त्यो भत्काएर पनि अगाडि बढिहाल्छु । तर अहिले भत्काउन पर्ने स्थिति चाहिँ बन्या छैन ।”

प्रचण्डले विद्रोह र शान्तिको नेता आफू बनेको भन्दै गौरवको महशुस गरेको बताए । “झन्डै ३० वर्षदेखिनै मैले लिएको पहल वा अगाडि सारेका मुद्धाहरु राष्ट्रिय राजनीतिको केन्द्रमा हुनु, विद्रोह हुनु, शान्ति हुनु, संविधान बन्नु, एउटा ठुलो यूग नै परिवर्तन हुने गरी राजनीतिक परिवर्तन हुनु, राजतन्त्रबाट गणतन्त्रमा जानु सामान्य कुरा होइन । यो सबै हुनु र त्यो सबै प्रक्रियामा म नेतृत्वमा रही राख्नु मेरो लागि गर्वको कुरा हो । बिरलै एउटै मान्छे विद्रोहको पनि नेता, शान्तिको पनि नेता, संविधानको पनि नेता, सबै भूमिकामा निरन्तर रहिराख्ने र टिकिराख्ने भन्ने सामान्य कुरा होइन । यो गौरव मलाई प्राप्त भयो । नेपाली जनताले मेरो पार्टीले मलाई त्यो जिम्मेवारीमा राखिराख्यो, त्यो भरोसा गरिराख्यो । मेरो लागि यो खुसीको कुरा हो” प्रचण्डले भने ।

पार्टी एकता जवर्जस्ती र रुँदारुँदै नहुने बताउँदै प्रचण्ड अगाडि भन्छन्, “रोईरोई त एकता हुँदैन नि । हाँसिखुसी हुने हो एकता । मलाई विश्वास छ, माओवादी केन्द्र र नेकपा एमालेका साथीहरू पनि सबै हाँसीखुसीमा नै दुईवटैको सम्मान हुने गरी इतिहासको सच्चाईलाई पनि स्थापित गर्ने गरी नै एकता हुन्छ भन्ने मेरो विश्वास छ ।”

राजनीतिक परिवर्तन र संविधान कार्यान्वयनमा माओवादीको छाप भएको बताउँदै प्रचण्डले त्यो एमालेले स्वीकार गर्नुपर्ने बताए । “पार्टी र आन्दोलनमा अन्ततः विचार र राजनीतिक मुद्दा नै प्रधान हुन्छ । विचार कस्तो र प्रवृत्ति के भन्ने कुरा नै मूल राजनीतिक मुद्दा पनि हो । अहिले नेपालमा जुन राजनीतिक परिवर्तन भएर नयाँ संविधान कार्यान्वयनमा गएको छ, त्यसमा हाम्रो छाप छ, माओवादीको छाप छ । यो कुरालाई सबैले स्वीकारेका छन् र स्वीकार्नुपर्छ । यो कम्युनिस्ट एकताको प्रक्रियामा पनि यो कुरा स्वीकारिनु पर्दछ” प्रचण्डले भनेका छन् । उनले माओवादी आन्दोलनको त्याग, तपस्या, बलिदान, एजेन्डालाई स्वीकार गर्न एमालेलाई गाह्रो भए एकतामा समस्य आउन सक्ने समेत बताए ।

एकताको प्रक्रियामा अध्यक्षको भूमिका र जनयुद्धको मूल्यांकनमा पनि कुरा नमिलेको बताए । उनले दुबै अध्यक्ष कार्यकारी हुने वा सेरेमोनियल हुनेमा भन्ने निक्र्यौल नभएको बताए ।

“अब एउटा कुरा के हो भने दुईवटा पार्टी, दुईवटा वैचारिक धारा र दुईवटा आन्दोलनको विकासबाट आएका छौँ । त्यस कारण त्यसलाई सम्मानजनक एकताको मोडालिटी खोज्ने चुनौति छ । केही कुरा हामीले टुंग्याई नै सकेका छौँ । दुईवटा अध्यक्ष रहने प्रणालीबाट जाने भनेर । अहिलेलाई महाधिवेशनसम्मका लागि । तर त्यो दुईवटा अध्यक्ष वास्तवमा नै दुईवटै अध्यक्ष कार्यकारी हुन्छन् कि एउटा अध्यक्ष सेरेमोनियल, एउटा अध्यक्ष एक्जुकेटिभ हुने अवस्था हो भन्ने कुरा निक्र्यौल भएको छैन । यदि त्यसो भयो भने त्यसले चाहिँ समस्या पार्छ” प्रचण्डले भने ।

त्यसैगरी केन्द्र र तलका पार्टी कमिटी के आधारमा निर्माण गर्नेमा पनि कुरा नमिलेको बताए । “एकता गर्दाखेरी ठ्याक्कै केन्द्र र तलका कमिटीहरू के आधारमा निर्माण गर्ने भन्ने कुरा छ । हामीले सम्मानजनक र बराबरीको सिद्धान्तमा टेकेर एकताको मोडल तय गर्नुपर्छ भन्ने कुरा छलफल भइराखेको छ । त्यसपछि निर्वाचन चिन्ह कस्तो हुने भन्ने कुरा पनि छलफलमै छ” प्रचण्डले भने ।

अन्तरवार्ताको क्रममा प्रचण्डले राजनीतिलाई सम्भावनाको खेल भएको बताउँदै पछाडि फर्किने कुरा दिमागको एउटा कुनमा राख्नुपर्ने बताए । उनले अन्धो भएर एकतारित आफू नगएको समेत बताउँदै प्रचण्डले भने, “राजनीति सम्भावनाको खेल हो भन्ने कुरालाई पनि ‘ब्याक अफ द माईण्ड’ दिमागको एउटा कुनामा त त्यो पनि राखिराख्नु पर्छ । अन्धो भएर एकतातिर भन्ने चाहिँ हुँदैन ।”

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया