सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता


काठमाडौँ, ३ वैशाख ।
सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा आज भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो ।

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनु भयो ।

सभामुख महराले शान्ति प्रक्रियाका धेरै काम सम्पन्न भइसकेको र अब देश आर्थिक समृद्धि तथा विकासतर्फ पूरै केन्द्रित भएको बताउनु भयो ।

तीन चरणका निर्वाचनमार्फत स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको भन्दै सभामुख महराले पाँच वर्ष्भित्र जनताको जीवनस्तर बदल्ने गरी विकास र समृद्धितर्फ केन्द्रित रहने बताउनुभयो ।

सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको जानकारी दिंदै नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा र संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार