आमा-महानता एक विभ्रम


ठगियौ आमा साँच्चै ठगियौ
महान बनाई बनाई ठगियौ !
अंश वंशको अधिकार खोसेर
दासी बनाई बनाई ठगियौ !
तिमीलाई महान भन्नेहरू
ठग हुन आमा ती
कि त अज्ञानी बच्चा हुन
तिमी हजारौं वर्षदेखि ठगियौ !दुख अभाव र अपमानमा
राखेर तिमीलाई समाजले
वाहियात पगरी गुथायो महानको
जसले आइमाईलाई कहिलै महान सोचेन
आमालाई कसरी महान सोच्छ
के आमा आईमाई होइनन् ?
तिमी ठगियौ आमा
झुठो महानतामा ठगियौ !

तिमीलाई महान बनाएर
खोपीमा नराखेको भए
बाउसँगै निकालेको भए बाहिर
तिमी उहिलै मुक्त हुने थियौ
हामी महान आमाका हैन
स्वतन्त्र आमाका सन्तान हुने थियौं
हामीलाई स्वतन्त्र आमाका सन्तान हुनु छ
अधिकार विहिन अवला आमाको हैन !

कसैले महान सोच्थ्यो भने मेरी आमा
तिमीलाई किन बोक्सी बनाइन्छ ?
किन दिसा कोच्याइन्छ ?
आमा महान हुने हो भने
आमा बन्ने हालतमा लगेर
किन हराउँछन् – आधुनिक प्रेमीहरू ?
महानता एक अभिशाप हो आमा
यो आठ हजार वर्षदेखिको कलङ्क हो !

पुरुष जातले थोपरेको
यो महानताको अभिशाप फालेर
यो कहाली लाग्दो कलङ्क पखालेर
मलाई मेरी आमा
स्वतन्त्र भएको हेर्न मन छ
स्वतन्त्र आमाको मलाई
स्वतन्त्र सन्तान हुन मन छ !

निस्क मेरी आमा अव
यो झुठो महानताबाट निस्क
यो निच सहनशीलताबाट निस्क
जगल्टा लुछुन्जेल रोइरहने
कुनै प्रतिवाद नगर्ने
तिम्रो सहनशीलता अमान्य छ
प्रशव वेदनामा समेत मन खोलेर
रुन चिच्याउँन प्रतिवन्धित
तिम्रो सती सावित्री पनप्रति खेद छ !

म यस्तो समाज रचना गर्दै छु
जहाँ कोही एक्लै महान हुने छैन
कोही तुच्छ पनि हुने छैन
त्यहाँ तिमी पनि महान हुने छैनौ
हुने छौ त – एक स्वतन्त्र आमा !
आहा ! मलाई स्वतन्त्र आमा मन पर्छ !!

२०७५|०२|०३
ढल्को

रचनाकार : बलराम तिमिल्सिना
 

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया