विपद् जोखिम न्यूनीकरणमा नवीकरणीय ऊर्जा


– कृष्ण अधिकारी
काठमाडौँ, १ वैशाख ।
‘टुकीको महत्व अन्धकारमा मात्रै थाहा हुन्छ’ भन्ने कुरा बालकुमारी सापकोटाले राम्ररी अनुभव गर्नुभएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले सिंगो गाउँ नै ध्वस्त बनेपछि बारीको गरामा पाल टाँगेर बस्दा सहयोगी संस्थाले राहतस्वरुप दिएको सोलार टुकीले निकै सजिलो भएको थियो ।

केन्द्रीय प्रशारण लाइन अवरुद्ध हुँदा महिनौँ दिनसम्म अन्धकारमा बस्नुपर्ने अवस्थामा उहाँलाई सोलार टुकीले निकै राहत दिएको थियो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको उपसंयोजकसमेत रहनुभएकी उहाँलाई विपद्को अवस्थामा नवीकरणीय ऊर्जाको माध्यमबाट विद्युत्को आवश्यकता पूरा गर्न सहज हुने उहाँ बताउनुहुन्छ ।

भूकम्पलगत्तै जिल्लाका अधिकांश घरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वितरण गरेको सौर्य प्रणालीबाट उज्यालोसँगै मोबाइल चार्ज गर्न पाउँदा सूचना र सञ्चारमा पनि निकै सहज भएको उहाँ सम्झनुहुन्छ । विपद्को अवस्थामा पीडितलाई तुरुन्त सूचनामा पहुँच पु¥याउन, उज्यालो राख्न सोलार पिभी विद्युत् आपूर्तिको एक भरपर्दो विकल्प बन्न सक्ने देखिन्छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले भूकम्पलगत्तै विभिन्न नवीकरणीय ऊर्जा प्रविधिमार्फत सरकारी कार्यालय, स्वास्थ्य चौकी, बर्थिङ सेन्टर, अस्थायी पठनपाठन केन्द्रमा उज्यालोका लागि र त्यहाँका उपकरण सञ्चालन गर्न विद्युत् सेवा पु¥याएको थियो । केन्द्रले नेपाल सरकारको लगानीमा पाँच हजार सोलार टुकी निःशुल्क वितरण गरेको थियो ।

त्यसपछि नेपाल सरकार र बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) को संयुक्त सहयोगमा एक लाख ४८ हजार ८०० घर परिवारलाई सोलार टुकी र २४ हजार फलामे चुलो वितरण गरिएको थियो भने भूकम्पबाट क्षति भएका पाँच हजार ३३० बायोग्यास र ४८ लघुजलविद्युत् आयोजनाको पुनःस्थापनामा समेत सहयोग गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमलगायत विभिन्न अन्य दातृ संस्थाले पनि भूकम्पपीडितका लागि विभिन्न नवीकरणीय ऊर्जा पहुँचमा सहयोग गरेका थिए । सरकार र विभिन्न विकास साझेदारको सहयोगमा केन्द्रले हालसम्म एक लाख ५९ हजार ६०० सौर्य घरेलु प्रणाली, ४५० संस्थागत सौर्य प्रणाली, १०३ वटा लघुजलविद्युत् परियोजनाको पुनःस्थापना गरेको छ ।

यसैगरी केन्द्रको सहयोगमा आठवटा सौलार पम्प, ३० हजार बायोग्यासमध्ये १० हजारको पुनःस्थापना, ४८ हजार ५०० फलामे सुधारिएको चुलो वितरण गरी करीब सात लाखभन्दा बढी भूकम्पबाट घरका बासिन्दा लाभान्वित भएका छन् । केन्द्रले भूकम्पबाट क्षति भएको परिवारका लागि राहत, पुनःनिर्माण तथा पुनःस्थापना र नवनिर्माण गरी तीन चरणमा कार्यक्रम अघि बढाएको बताएको छ ।

गाउँमा रहेका लघुजलविद्युत् आयोजना र केन्द्रीय प्रशारणको विद्युत्लाई भूकम्पले एक्कासि ध्वस्त पारेपछि अन्धकारमा रहेका जिल्लावासीलाई राहत र उद्धार कार्यमा सोलारले निकै सजिलो बनाएको जिल्ला आयोजना कार्यालय सिन्धुपाल्चोकका प्रमुख माधवजंग कार्की बताउनुहुन्छ ।

ध्वस्त भएका विद्युत्का संरचना बनाउन महिनौँ लागेको अवस्थामा सोलारको उज्यालोमा रातको समयमा पनि भूकम्पपीडितको लगत संकलन र वितरणका काम गर्न सकिएको उहाँको भनाइ छ । अहिले पनि कहिलेकाहीँ बत्ती गएको अवस्थामा सोलारले नै काम गर्ने गरेको कार्यालयले जनाएको छ ।

गोरखा जिल्ला अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष बाबुराम थापा पनि भूकम्पलगत्तै केन्द्रलगायत विभिन्न संस्थाले दिएको सौर्य प्रणालीबाट अस्पतालमा भर्ना भएका बिरामीको उपचार गर्न सकिएको बताउनुहुन्छ । विद्युत् लाइन ध्वस्त भएपछि मट्टितेलको टुकीबाट उपचार गराउनु परेको अवस्थामा ९०० वाट क्षमताको सौर्य प्रणाली जडान भएपछि एक्सरेबाहेक शल्यक्रिया, ड्र्ेसिङलगायतका काम गरी धेरैलाई समयमै उपचार गर्न सकिएको उहाँ सुनाउनुहुन्छ ।

प्राकृतिक विपद्को समयमा यातायात, विद्युत्, स्वास्थ्य सेवा, सञ्चारजस्ता अत्यावश्यक सेवा पनि अवरोध हुने हुँदा उद्धार कार्यसमेत कठिन हुने गर्दछ । गोरखा भूकम्पमाको समयमा पनि थुप्रै ठाउँमा सडक भत्किएर यातायात अवरुद्ध भएको थियो, जलविद्युत् आयोजनामा क्षति हुँदा विद्युत् आपूर्ति बन्द भएको थियो । त्यतिबेला सरकारी, गैरसरकारी र विदेशी दातृ संस्थाले विभिन्न क्षमताका सौर्य प्रणाली वितरण गरेका थिए । अस्पताल तथा स्वास्थ्य संस्थामा भएको क्षतिले घाइते तथा अन्य बिरामीको उपचारमा कठिनाइ भयो ।

भूकम्पबाट केही ठूला जलविद्युत् आयोजना तथा थुप्रै लघु तथा साना जलविद्युत् आयोजनामा क्षति हुँदा अधिकांश गाउँमा विद्युत् आपूर्ति बन्द भएको थियो । घरेलु सौर्य प्रणाली, सुधारिएको चुलो तथा बायोग्यास प्लाण्टमा पनि क्षति भयो ।

विपद्पछिको पहिचान प्रतिवेदनअनुसार ११५ मेगावाट बराबरको विभिन्न जलविद्युत् आयोजनामा क्षति हुँदा उत्पादन, प्रशारण र वितरण प्रणालीमा प्रभाव परेको थियो । ६० मेगावाट बराबरका आयोजनामा आंशिक क्षति भएको थियो । निर्माणाधीन एक हजार मेगावाट क्षमताका आयोजना प्रभावित बनेका थिए । यसबाट समग्रमा करीब छ लाख घरधुरीमा विद्युत्को पहुँच बिच्छेद भएको थियो ।

तीमध्ये ९१ हजार २०० राष्ट्रिय प्रणालीका ग्राहक थिए भने बाँकी साना तथा लघुजलविद्युत् साथसाथै सोलारका प्रयोगकर्ता थिए । यसैगरी भूकम्पबाट खाना पकाउन बायोग्यास तथा सुधारिएको चुलोमा क्षति भएपछि टहरा वा अस्थायी छाप्रोमा दाउरा बालेर वा ग्यासबाट गुजारा चलाउन बाध्य हुनुपरेको थियो ।

भूकम्पमा जिल्लाका थुप्रै स्वास्थ्यचौकी ध्वस्त भएको र घाइतेको चाप बढेको अवस्थामा चौरमा राखेर उपचार गराएको घटना आलापु स्वास्थ्य चौकीमा कार्यरत अनमी लक्ष्मी थामीलाई अहिले पनि ताजै छ । उज्यालो नहुँदा रातको समयमा उपचार गर्न कठिनाइ भएको अवस्थामा केन्द्रले उपलब्ध गराएको सौर्य प्रणालीले उज्यालोसँगै स्वास्थ्यका कतिपय उपकरण चलाएर धेरैको ज्यान बचाउन सकेको थामी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुनै पनि बेला भूकम्पलगायतका विपद् आउनसक्ने हुँदा गाउँगाउँमा सोलारजस्ता अत्यावश्यक उपकरण स्टकमा राख्नु आवश्यक छ । राहत र उद्धारका लागि उज्यालो राख्न सौर्य ऊर्जा उपयोगी हुने रहेछ ।”

भूकम्पको लगत्तै धेरै ठाउँमा सोलारबाट मोबाइल फोन चार्जिङ गर्ने व्यवस्था केन्द्रले मिलाएकाले सञ्चार गर्न सहज भएको थियो । केन्द्रले तत्कालै ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जाको सहयोगमा लघु जलविद्युत् र सौर्य खानेपानी पम्पिङ आयोजनामा क्षतिको अध्ययन गरको थियो ।

भूकम्पबाट २६२ वटा लघु जलविद्युत् आयोजनामा क्षति पुगेको र ९१ आयोजना बन्द भएको थियो । लघु जलविद्युत् आयोजना बन्द हुँदा ३५ हजार परिवार विद्युत्बाट वञ्चित भएका थिए भूकम्पको कारणले १७ हजार गोबरग्यास, ७० हजार घरेलु सोलार प्रणाली तथा १५० संस्थागत सोलार क्षति भएको थियो । भूकम्पबाट करीब डेढ खर्ब बराबरको नवीकरणीय ऊर्जाका प्रविधिमा क्षति पुगेको थियो ।

केन्द्रले जिल्ला दैवी प्रकोप समितिको सिफारिसमा प्रभावित क्षेत्रमा निःशुल्क रूपमा नवीकरणीय ऊर्जाको प्रविधि वितरण गरेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताउनुभयो ।

केन्द्रले चीन सरकारको सहयोगमा प्राप्त ३२ हजार सेट साना सौर्य ऊर्जा प्रणाली र ३२५ वटा संस्थागत सौर्य प्रणाली वितरण गर्न लागेको छ । अहिलेसम्म विद्युतीकरण नभएका स्थानलाई विशेष प्राथमिकताका आधारमा सम्बन्धित जिल्लाका नगरपालिका र गाउँपालिकामार्फत वितरण गरिने केन्द्रका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

गोरखा भूकम्पपछि प्रभावित क्षेत्रमा धमाधम पुनःनिर्माणका काम अगाडि बढिरहेको भए पनि भूकम्पपीडितका लागि निर्माण हुने बस्तीमा दिगो ऊर्जाको पहुँच तथा ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नेतर्फ ध्यान दिइएको पाइँदैन ।

भूकम्प प्रभावित जिल्लामा निजी घर तथा सरकारी भवनको निर्माण भइरहँदा ऊर्जाको सुनिश्चिततातर्फ कुनै ध्यान दिइएको छैन । आगामी दिनमा पुनः यसखालका विपद् आएको अवस्थामा ऊर्जाको कारण राहत, उद्धार तथा बिरामीको उपचारमा पहिलेकैजस्तो समस्या दोहोरिने अवस्था रहेको छ ।

शनि, बैशाख १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया