यस्तो छ मेरो धर्मनिरपेक्ष देशको असली हालत !


कोही गाईको पूजा गरिरहेका थिए
गाई पुज्नेको पनि आफ्नै आस्था थियो
कोही गाईको भूजा गरिरहेका थिए
गाई खानेको पनि आफ्नै परम्परा थियो
भर्खर त दुई सय पचास वर्ष भयो
गाई पूजा गर्नेले यो सरहद जितेको
गाई खानेहरू खोसिएको देशसँग ।

देश खोसिएपछिको कथा हो –
एक जातीको मान्यता थोपरिएको
गाई खाएको कारण जेल जानु परेको
गाई खानेहरू मासिन्या बनाइएको ।

गणतन्त्र नामको एक थान व्यवस्था
जव आयो यो सरहदमा
गाई खानेहरूले सोचे-
अव त गाई खान पाइन्छ होला ?
वर्षौं दवाइएको आवाज
चिहानबाट उठ्यो र भन्यो –
“अव गाई खान पाउँने कानून बनाउँछु !”

गाई पूजक कम्युनिष्ट सरकार छ देशमा
पण्डित शिरोमणी प्रधान मन्त्री छन्
पण्डितको हातबाट गाई खाने कानून ?
बाफ्रे ! यो त संभवै छैन ।

बजारभरि होहल्ला छ –
“फलानीले फलानो थोक भनिछ
त्यसको जिब्रो थुत्नु पर्छ
सेकुवा बनाउँनु पर्छ
नून खुर्सानी चोबेर खानु पर्छ !”

यसो भन्दै छन् गाई पूजकहरू
मान्छेको जिब्रोको सेकुवा खान तयार
तर गाई खान बर्जित
यस्तो छ मेरो धर्मनिरपेक्ष देशको असली हालत ।

गाई पूजा गर्नेलाई पनि गर्न देऊ
गाई भूजा गर्नेलाई पनि गर्न देऊ
यो सवैको साझा फूलवारि हो भने
सवै फूललाई बराबरी फुल्न देऊ !

लेखक : वलराम तिमिल्सिना

शनि, चैत्र १०, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया