कविता – मेरो देश


-सिरियस रबिन
सगरमाथाको उचाइ जस्तै मेरो देशको शिर
ओइलिएको रुखको हाँगा जस्तै निहुरिएको छ
दया र करुणा पोख्ने
स्वयम्भूका ती दुई अबोध आँखाहरु
हिंसाको तरबारले रगताम्मे छ ।
शान्तिको गीत गुन्गुनाउँदै
परेवा उड्ने मेरो देशमा
बलेको टायरको दुर्गन्धित हावा
उड्न थालेको छ
सयौँ पत्र मिली बनेको एक थुँगा मेरो देश
पत्तापत्ता थुतेर शोभाहीन बनाइँदै छ ।
हेरिरहेका छन् सहिदहरुले सन्झ्यालबाट
जीवन अर्पण गरेर बँचाएको
सार्वभौमिकता, स्वाभिमान र स्वतन्त्रता
लुट्न तम्सिँदै छन् केही कपूत
र गिराउन चाहँदै छन् हाम्रो अटल आस्था
शान्तिको अग्रदूत जन्मिएको मेरो देश
सामाजिक विद्वेषले आक्रान्त छ
टुटाउन हाम्रो प्रीतको डोरी
आपसी सद्भाव र भाइचाराको गाँठोमा
धमिराहरु गुडुल्किरहेका छन् ।
अब
बुझेर घातीका चालहरु
मेरो अटल आस्थालाई
म मेरो पोल्टोमा स्याहार्छु
मेरा यी दुई आँखामा दया र करुणा उमार्छु
जन्माउँछु शान्तिका नयाँ सन्तान
सँगालेर हातैभरि सम्भावना
यहीँ पोखाउँछु मेरो श्रम र सिप
र पौरखमा बाँचेर बचाउँछु देशको स्वाभिमान ।

मङ्ल, चैत्र ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार

Like us On Facebook

Follow Us On Twitter