मेगा प्रोजेक्ट र सपनाहरु


-वीर सिह धामी

विशाल इन्जिनियरिङ संरचनाहरु अर्थात ‘मेगा प्रोजेक्टहरु’ मा अहिले संसारकै सबैभन्दा बढी लगानी रहेको छ।विश्वको कूल ग्राह्यस्थ उत्पादनको करिब आठ प्रतिशत जति लगानी मेगा प्रोजेक्टहरुमा भएको देखिन्छ ।अहिले यो क्षेत्रमा वार्षिक करिब छ देखि नौ खर्ब डलर लगानी रहेकोमा सन् २०३० सम्म यो रकम बढेर करिब ७० खर्ब डलर पुग्ने अनुमान ओइसिडीले गरेको छ ।विश्व बैंकको लगानी रहेका आयोजनाहरुको मात्र हिसाब हेर्ने हो भने पनि वार्षिक २० अर्ब डलर जतिको लगानी यो क्षेत्रमा रहेको देखिन्छ । विकासशील तथा बिकसित सबै देशले आफ्ना विविध भू-राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय समस्याहरुबाट पार पाउने उद्देश्यले सो क्षेत्रमा लगानी बढाउदै लगिरहेको देखिन्छ ।चीनले सन् २००४ देखि सन् २००८ सम्मको पाँच वर्षमा भौतिक पूर्वाधारमा गरेको लगानी हेर्ने हो भने उसले पुरै २०औं शताब्दीमा गरेको लगानीभन्दा बढी देखिन्छ । यूरोपले दुइ दशक भन्दा बढी समय लगाएर हाइस्पीड रेलको लागि जति किलोमीटर लाइन निर्माण गरेको थियो चीनले त्यो भन्दा बढी सन् २००५ देखि सन् २००८ सम्मको चार वर्षमा निर्माण गर्न सफल भएको छ ।अझ रोचक तथ्य त के छ भने विश्वशक्ति अमेरिकाले बिसौं शताब्दीभरी प्रयोग गरेको सिमेन्टभन्दा डेढ गुना बढी सिमेन्ट चीनले सन् २०११ देखि सन् २०१३ सम्मका तीन वर्षमै प्रयोग गरेको छ ।

मेगा प्रोजेक्टहरुले सम्वन्धित देश र जनताको जीवन र वातावरणमा आमूल परिवर्तन ल्याउने क्षमता राख्छन् । यी प्रोजेक्टहरुले सयौं वा हजारौंलाइ होइन दशौं लाख जनताहरुलाइ प्रभावित गर्दछन् । उदाहरणको लागि संसारकै सबैभन्दा व्यस्त भनेर चिनिने दुबई विमानस्थल एउटैले त्यहाँको रोजगारीको २१ प्रतिशत हिस्सा ओगटेको छ भने कूल ग्राहस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ । त्यसै गरी दिल्ली मेट्रो तथा हङकङ मेट्रो रेल विनाको त्यहाँको जीवनको कल्पना गर्न पनि सकिन्न ।मानवले जंगली युग छोडेर व्यवस्थित बस्ति शुरु गरेदेखि नै भौतिक पूर्वाधार मानव जीवनको एउटा अभिन्न पाटोको रुपमा रहदै आएको छ ।प्राचिन समयका सात आश्चर्य देखि लिएर अहिलेका भिमकाय बांधहरु, नहरहरु, गगनचुम्वी घरहरु, विशाल विमानस्थलहरु, पूलहरु, तेल र ग्याँसलाइनका पाइपलाइनहरु, खानीहरु, रंगशालाहरु, इन्टरनेट संजालहरु, अन्तरीक्ष तथा अनुसन्धान केन्द्रहरु मार्फत मानवले आफ्नो सामर्थ्य र क्षमताको प्रदर्शन तथा जीवनको सहजीकरण गरीरहेको छ ।अहिलेको युग भौतिक पूर्वाधारको युग हो।आफूलाइ समृद्ध तुल्याउन होस वा विश्वसामु आफ्नो अस्तित्व स्थापित गर्न होस सबै देशले कुनै न कुनै मेगा प्रोजेक्टहरुको सपना जरुर देखेका हुन्छन् ।

विश्वव्यापी रुपमा स्वीकृत मापदण्ड अनुसार, लगानीको हिसाबले एक अर्व अमेरिकी डलर भन्दा बढी लागत अनुमान भएका आयोजनाहरुलाइ मेगा प्रोजेक्ट भनिन्छ ।तथापी अहिले विश्वमा सय अर्व डलर सम्मका मेगा प्रोजेक्टहरु संचालनमा रहेका छन् । हर्सम्यानले मेगा प्रोजेक्टहरुलाइ समाज परिवर्तन गर्ने आयोजनाहरुको रुपमा व्याख्या गरेका छन् ।उनका अनुसार मेगा प्रोजेक्टहरु भनेको परम्परागत प्रोजेक्टहरु जस्तो चलनचल्तीको सामाजिक अवस्थामै ‘फिट’ हुने नभइ समाजको संरचना र दिशा नै परिवर्तन गरिदिने खालका अर्थात ‘ट्रेट मेकिङ’ गर्ने खालका आयोजनाहरु हुन्। अर्थात शुरु शुरुमा मेगा प्रोजेक्टहरुलाइ समाजले पचाउन गाह्रो पनि हुन सक्छ ।अक्सफोर्ड विश्वविद्यालका प्रोफेसर फिलिपजर्गले मेगा-प्रोजेक्टहरुलाइ धेरै ठूलो साइजको , धेरै जटिल प्रकृतिको, धेरै खर्च लाग्ने, निर्माण सम्पन्न गर्न धेरै समय लाग्ने र धेरैको सरोकार हुने प्रोजेक्टको रुपमा चित्रित गरेका छन् ।दुबइको बुर्जखलिफा, सिडनीको ओपेरा हाउस, चीनको थ्री गोर्जेज, थाइल्याण्डको बैंकक मेट्रो, संयुक्त राज्य अमेरिकाको बोस्टन बिग डिग सुरुङ आयोजना तथा भारतको नदी जडान आयोजना विश्वका केही चर्चित मेगाप्रोजेक्टहरु हुन् ।

नेपालले पनि मेगा-प्रोजेक्टको सपना देख्न थालेको विसौ शताव्दीको मध्यतिरै बाट हो । सन् १९६० को दशकदेखि नै सपना देखेको कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना ( १०,८०० मेगावाट ) बनेको भए अहिले हामीसित विश्वकै तेस्रो ठूलो जलविद्युत आयोजना हुन्थ्यो । नेपालले सपना देखेका अरु मेगा प्राजेक्टहरुमा नीजगढ अन्तर्राष्ट्रीय विमानस्थल (लागत अनुमान करिब ६.५ अर्व अमेरिकी डलर), काठमाण्डौं-तराइ फास्टट्रयाक (करिब १.५ अर्ब डलर), बुढी गण्डकी जलविद्युत आयोजना (करिब २.५ अर्ब डलर) र पश्चिमसेती जलविद्युत आयोजना मुख्यरुपमा रहेका छन् ।यी आयोजनाहरुलाइ नेपाल सरकारले हाल राष्ट्रिय गौरवका आयोजनाका रुपमा संचालित गरिरहेको छ । तर उक्त आयोजनाहरुको विकासको गति हेर्दा हामीले देखेका मेगा प्रोजेक्टका सपना विपना हुन अझै धेरै समय कुर्नुपर्ने जस्तो देखिन्छ ।
मेगा-प्रोजेक्टहरुलाई सफलतापूर्वक सम्पन्न तथा संचालन गर्नको लागि सम्बन्धीत देशको जनशक्तिको दक्षता, सामर्थ्य, इच्छाशक्ति र कटिबद्धतामा भर पर्दछ । प्रोफेसर फिलिपजर्ग कै भाषामा “यदि परम्परागत आयोजनाहरु संचालन गर्नको लागि प्रोजेक्ट म्यानेजरलाइ ड्राइभरको लाइसेन्स जरूरी पर्दथ्यो भनेर मान्ने हो भने मेगा-प्रोजेक्टहरु संचालन गर्ने प्रोजेक्ट म्यानेजरलाइ जम्बो जेट बिमानको पाइलटको लाइसेन्स को जरुरत पर्दछ” । अर्थात मेगा प्रोजेक्टहरुको व्यवस्थापन गर्नको लागि जनशक्ति त्यही अनुसारको दक्ष र अनुभवी हुनु जरुरी छ । भनसुन, चाकरी ,पैसाको बलमा र आफ्नो मान्छेको नाममा नियुक्त हुने जनशक्तिको हातबाट यस्ता प्रोजेक्टहरुको निर्माण, संचालन तथा व्यवस्थापन सम्भव हुदैन ।

आलोचकहरुले मेगा प्रोजेक्टहरुलाइ धेरै खर्च चाहीने, तोकिएको समयमा सम्पन्न नहुने र लामो समयको जरुरत पर्ने, जटिल प्राविधीक र वातावरणीय समस्या सिर्जना गर्ने र आशातित प्रतिफल नदिने आयोजनाहरुको रुपमा आलोचना गर्ने गरेका छन् ।उदाहरणको लागि संयुक्तराज्य अमेरीकाको पूर्वाधार विकासको इतिहाँसमै प्राविधीक रुपले सबैभन्दा चुनौतिपूर्ण मानिएको ‘बिग डिग ‘ प्रोजेक्ट तोकिएको समय भन्दा ८ वर्ष पछाडी र अनुमान गरेको लागत अनुमान भन्दा करिब २२० प्रतिशत बढी खर्च गरेर सम्पन्न भएको छ । संसारकै सवैभन्दा उच्च प्रविधियुक्त दक्ष जनशक्ति र सम्पन्न मुलुकको समेत यो हविगत गर्ने सक्ने यो पूर्वाधार आयोजना कस्तो होला भनेर कल्पना गर्न सकिन्छ । त्यसैगरी चार वर्षमा निर्माण सम्पन्न हुने आश गरिएको अष्ट्रेलियाको सिड्नी ओपेरा हाँउस चौध वर्ष र १४०० प्रतिशत बढी रकम खर्च गरेर मात्र सम्पन्न भयो । अहिले सवैले प्रशंसा गर्ने बैंककको मेट्रो प्रोजेक्टमा लागत अनुमान गरेको भन्दा ७० प्रतिशत बढी रकम खर्च भयो । प्रोफेसर फिलिपजर्गले विश्वभरी यस्ता मेगा(प्रोजेक्टहरुको विस्तृत अध्ययन सहितको निष्कर्षबाट मेगाप्रोजेक्टहरुको आलोचना गरेपनि बकनेल युनिवर्सिटीका बेन मार्सले भने मेगा-प्रोजेक्टहरुलाइ प्राचीन सात आश्चर्यहरु संग तुलना गरेका छन् ।उनले यस्ता प्रोजेक्टहरुले सम्बन्धित देशको संस्कृतिको अंगको रुपमा काम गर्ने कुरा उल्लेख गरेका छन् ।उनी भन्छन् “मेगा प्रोजेक्टहरुले केवल खर्च मात्रै गर्दैनन् तिनीहरुले सम्वन्धित देशको सरकारको सामर्थ्य र व्यवस्थापन कौशल झल्काउछन्” । कमजोर सरकार र कमजोर देशले मेगा प्रोजेक्ट संचालन, सम्पन्न र सफलतापूर्वक व्यवस्थापन गर्न सक्दैनन् । मेगा(प्रोजेक्टहरुले सामाजिक, आर्थिक र वातावरणीय परिवर्तन बाहेक त्यो देशका जनता र सरकारको इच्छाशक्ति र कटिबद्धता प्रतिविम्वित गर्दछन्।विश्वमञ्चमा दरो गरेर खुट्टा टेकाउन मदत गर्दछन् ।बाँकी विश्वलाइ आफूले सिर्जना गरेको गौरवलाग्ने कुरा देखाइ आफ्नो अस्तित्व स्थापित गर्न सहयोग गर्दछन् । एक हिसाबले मेगा प्रोजेक्टहरुले त्यो देशको सम्पूर्ण शक्तिको ९सिम्बोल अफ पावर० को परिचय दिन्छन् । यी सबै कुराहरुको मूल्य तोक्न सकिदैन । त्यसैले आर्थिक रुपले मात्रै गरेको मूल्याकंनले मेगा(प्रोजेक्टहरुले समाज र देशलाइ पुर्‍याएको योगदान मापन गर्न सकिदैन ।इजिप्ट स्थित आश्वन बाँधको विस्तृत अध्ययन गरेका समाजशास्त्री हुसेन एम फहीम भन्नुहुन्छस् “आर्थिक र सामाजिक सूचकहरुले बहुआयमिक समाजको केबल एकल आयम मात्र प्रस्तुत गरेका हुन्छन्”।संसार भरी जति विरोध भए पनि चीनले थ्री गोर्जेज प्रोजेक्ट सम्पन्न गरेरै छाड्यो।तुलनात्मक रुपमा हेर्दा चीनले संसारकै सबभन्दा ठूलो उक्त भीमकाय प्रोजेक्ट (२२,५०० मेगावाट जलविद्युत) बनाउदा सम्म हामीले भने लगभग संग संगै शुरु भएको ३० मेगावाट को चमेलिया जलविद्युत आयोजना मुश्किलले सम्पन्न गर्न सक्यौ ।
नेपालको सन्दर्भमा मेगा-प्रोजेक्टहरुको विकासको अवस्था भाषणमा मात्र आकर्षक देखिन्छ । सरकारले हाल संचालनमा राखेका २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरुमा हाम्रो कार्यान्वयन क्षमता, स्थानीयस्तरको विवाद, जग्गा प्राप्तिमा कठिनाइ र अन्तरनिकाय समन्वय जस्ता कुराहरु हेर्ने हो भने हाम्रो दयनीय स्थिती प्रष्ट देखिन्छ ।विभिन्न रणनैतिक आयोजनाहरुको कार्यान्वयनको सन्दर्भमा सरकार नै स्पष्ट हुन नसकेको देखिन्छ। कार्य सफल भएमा सबै जस आफूले लिने असफल भएमा सबै अपजश आफ्ना सहयोगी वा अरुको टाउकामा थुपार्ने प्रवृति हावी छ ।आयोजना संचालन गर्दा व्यक्तिगत रुपमा मैले के पाउछु भन्ने “रेन्ट सिकिङ मेन्टालिटी” ले सबैलाइ गाँजेको छ ।यस्ता प्रोजेक्टहरुमा कार्यगर्ने प्राविधिकहरुको मनोवल उच्च राख्ने र त्यस्तो दक्ष जनशक्ति उत्पादन गर्ने कुनै संयन्त्र छैन ।भागबण्डाको आधारमा आफ्ना मान्छे भर्ना गर्ने चलनले प्रशय पाएको छ । यस्तो अवस्थामा नत कुनै रचनात्मक कार्यको शुरुवात हुन्छ न त कसैले रिश्क लिएर कुनै निर्णय लिने हिम्मत गर्दछ ।यसको साथै मेगा(प्रोजेक्टहरुमा “रिश्क” र “अनिश्चितता” पनि मेगा नै हुन्छ। आयोजनाको निर्माणपूर्व अनुमान गर्नै नसकिने थुप्रै समस्याहरु आयोजना कार्यान्वय सितै बाहिरिन्छन् ।तिनको समाधानको लागि उच्च मनोबलयुक्त दक्ष जनशक्ति, सरकारी संयन्त्र, अध्ययन अनुसंधान गर्ने र समाधान खोज्ने संस्थापकीय व्यवस्था, राजनैतिक नेतृत्वको सहयोग, सामाजिक वातावरण, समयमै उचित निर्णय लिनको लागि परिपालन गर्नुपर्ने प्रकृया र कानुनहरु, निर्णय क्षमता भएका व्यक्तिहरुले भोग्नुपरेका तिता यथार्थहरु सबैको अवस्था हेर्दा पनि हामी अझै मेगा-प्रोजेक्टहरु संचालनको लागि तयार भइसकेको अवस्था भने देखिदैन।

( लेखक सिचाइ विभागका सिनियर डिभिजन इन्जिनियर हुन् )

शुक्र, फाल्गुन १८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार

Like us On Facebook

Follow Us On Twitter