युवालाई बेरोजगार भत्ता हैन, उत्पादनमा लगाउनुपर्छ: बस्नेत


१२ फागुन, काठमाडौं ।
०५२ सालमा वृद्ध भत्ताको व्यवस्था गरेर चर्चा कमाएको तत्कालिन एमाले नेतृत्वको सरकारले जनताको समर्थन पाएको थियो । त्यसैलाई एमालेले योपाली पनि चुनावी मसला बनायो । च्ुनाववमा नयाँ मत पाउन पार्टीले लिएको नीति जनपक्षीय भएको दाबी एमालेका नेताहरुले गरिरहेका छन् ।
चौथोपटक प्रधानमन्त्रीका कार्यकाल सम्हालेका शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच वर्ष घटाएर ६५ वर्षमै वृद्ध भत्ता दिने निर्णय ग¥यो । त्यस निर्णयको आलोचना र स्वागत भयो । एकथरिले समय नै नपुगेर वृद्धको पंक्तिमा दर्ज हुनुपर्ने अप्रिय निर्णय गरेको भन्दै आलोचना गरे भने एकथरिले छिट्टै भत्ता पाइने भइयो भनेर निर्णयको स्वागत पनि गरे ।
देउवा सरकारले गरेको निर्णयको केही समय लगतै सत्तामा पुगेको वामगठबन्धनको सरकारले बेरोजगार युवालाई ५ हजार भत्ता बाँड्ने चर्चा शुरु भएको छ । पहिलोपटक संघीयता अभ्यास गरिरहेको विकासोन्मुख देश नेपाललाई संघीय संरचना विस्तारमै आर्थिक व्ययभार बढिरहेको अवस्थमा बेरोजगार युवालाई ५ हजार दिने चर्चाको विरोध हुन शुरु भएको छ ।
बेरोजगारी भत्ता संसारकै नौलो विषय भने हैन । विकसित देशहरुले बेरोजगार युवाहरुलाई बेरोजगार भत्ताको व्यवस्था गरेको हुन्छ । तर युवालाई भत्ताभन्दा पनि उत्पादनमुलक कार्यमा जोड दिनुपर्ने आवाज उठ्न थालेको छ ।
भत्ता दिदैमा युवा आत्मनिर्भर नहुने भएकोले यो सरकारको क्षणिक सस्तो लोकप्रियताका लागि गर्ने निर्णय मात्र भएको बताउँछन् राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघका सुरक्षा संयोजक एवं कार्यक्रम संयोजक राजकुमार बस्नेत । नेपाललाई कृषिप्रधान देश मानिसकेको अवस्थामा युवा शक्तिलाई सहुलियत ऋण उपलब्ध गराएर उत्पादनमुलक कार्यमा लागउनु पर्ने उनको तर्क छ ।
बढ्दो बेरोजगारी नियन्त्रण र सामाजिक रुपान्तरणका लागि कृषिमा क्रान्तिको आवश्यक रहेको उनले बताए । राष्ट्रिय पीडित उद्धार परामर्श तथा साँस्कृतिक युवा समाज तथा नो ग्रुप सेक्युरेटी सर्भिस प्रालिका प्रमुख संचालकसमेत रहेका बस्नेतले ५ हजार भत्ताले देशलाई समृद्धिमा नपु¥याउने तर्क गर्छन् । युवालाई व्यवसायमार्फत मासिक तीन लाख आर्जन गर्न सक्ने वातावरण सरकारले बनाउनुपर्ने बस्नेत बताउँछन् ।
मुलुृकको सम्मृद्धिको लागि पानी र जवानीलाई स्वदेशमै रोक्नुपर्नेमा जोड दिँदै प्रमुख संचालक बस्नेतले काम नपाएरै वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेश फर्काउनु पर्ने र रोजगारको व्यवस्था गर्नु अनिवार्य रहेको बताए । विदेशमा श्रमिक बेच्न छाडेर, त्यही श्रमिकलाई नेपालमै श्रममा लगाई उनीहरुबाट उत्पादित सामान बेच्ने लक्ष्य र उदेश्य हाम्रो छ, बस्नेतले भने । अमेरिका, चीनलगायतका देशहरु स्वदेशमै युवाहरुलाई उत्पादनमूलक कार्यमा जोड दिएका कारण आज विश्वको पहिलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको भन्दै उनले कृषिमा युवाहरुको प्रत्यक्ष संलग्नतामा क्रान्ति आवश्यक रहेको तर्क गरे ।
पछिल्लो समय ग्रामिण भेगमा खेतीयोग्य जमिन बाँजो राख्नेको संख्या बढेको र त्यस्तो जमिनमा सरकारले लगानी गरेर उन्नत जातको फलफूल र बोट–बिरुवा लगाउन युवालाई प्रयोग गर्नुपर्ने राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघका अध्यक्ष विष्णुविक्रम खत्रीको भनाई छ । युवालाई स्वदेशमै रोकेर कृषि क्रान्ति गर्न सके मुलुक कायपलट हुन समय नलाग्ने उनले बताए । समाजमा रहेका विकृति र विसंगतिलाई रोक्दै सामाजिक रुपान्तरणका लागि युवाबिना संभव नहुने उनको दाबी थियो ।
राष्ट्रिय पीडित उद्धार परामर्श तथा संस्कृतिक युवा समाज र नो ग्रुप सेक्युरेटी सर्भिस प्रा.लि. र राष्ट्रिय युवा बेरोजगार व्यवस्थापन संघले एक दशकदेखि सामाजिक क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै आएको छ । युसलाई निरन्तरता दिने प्रयास जारी राखेको छ ।
बागमति सरसफाई अभियानदेखि गमलामा कौशी खेती (तरकारी उत्पादन) अभियानको शुरुवात गरेका यी संस्थाहरु अहिले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि क्रियाशील रहेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाई निःशुल्क स्वास्थ्य र शिक्षाको व्यवस्था गरिरहेको र अहिले पनि विभिन्न विद्यालयमा गरी तीन सय विद्यार्थीहरु निःशुल्क पठनपाठन गरिरहेको उनीहरुको दाबी छ ।
यस संस्थाहरुले सहकार्यमा समाजमा हुने विभिन्न अपराधिक गतिविधि रोक्न सडक गस्तीदेखि लिएर अनाथ बालबालिकालाई बालआश्रममा राखेर संरक्षण तथा बालविकासका काम गर्दै आएका छन् । वृद्ध भत्ता, एकल महिला भत्ता अन्यमा आफुहरुको कुनै विरोध नभएको तर युवाजस्तो क्रियाशील शक्तिलाई भत्ता दिएर सरकारले निष्कृय बनाउने काम गरेको भन्दै यो उचित नभएको बताए ।
निःशुल्क सीपको सिर्जना गरेर देशभित्रै लगानीको व्यवस्था गरी उत्पादनमुलक कार्यमा युवालाई लगाउनुपर्ने उनीहरुको जोड छ । यसबारे राज्यले तत्काल नीति बनाउनुपर्ने माग उनीहरुको छ ।

शनि, फाल्गुन १२, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter