सुनसरी चतरा–विद्युत्गृह बन्द : यस्तो छ कारण


इटहरी, २ फागुन ।
सुनसरीको चतरा विद्युत् उत्पादन गृहबाट विद्युत् उत्पादन कार्य पूर्णरुपमा बन्द भएको छ । बराह नगरपालिका–१ स्थित चतरामा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको मूल नहरमा निर्माण गरिएको गृहका दुवै टर्वाइनको उपकरण बिग्रिएपछि विद्युत् उत्पादन बन्द भएको हो ।

बराह क्षेत्रको चतरामा रहेको सिँचाइ नहरमा सप्तकोशी नदीबाट आउने बालुवा छान्नका लागि मूल नहरमा प्रयोगमा राखिएका ड्रेजर मेशिन चलाउनका लागि निर्माण गरिएको ३ दशमलव २ मेगावाट क्षेमताको विद्युत् उत्पादन उपकरण बिग्रिएका छन् । जसका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा थप भएको विद्युत् प्रसारणमा कमी आएको छ ।

झण्डै एक दशकअघि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण गृहमा जोडिएको चतरा विद्युत् गृहमा रहेका दुईवटै टर्वाइन उपकरणमा खराबी आएर विद्युत् उत्पाद हुन नसक्दा विद्युत् उत्पादन गृह बन्द गर्नुपरेको इञ्जिनियर विमलप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

जर्मन प्रविधिका ती उपकरण मर्मतमा आवश्यक उपकरण माग गरिएको भए पनि आई नपुगेकाले बनाउन कठिन भइरहेको इञ्जिनियर विमलप्रसाद पाण्डेयले जानकारी गराउनुभएको छ ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाले मोरङ र सुनसरीको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले सिँचाइ आयोजना स्तरोन्नति गर्दै नहरमा आउने बालुवा छान्नका लागि राखिएका दुईवटा ड्रेजर मेशिनमध्ये एकवटा मेशिन पनि बिग्रिएर थन्किएको छ ।

नहरको बालुवा छान्न प्रयोग गरिँदै आएको बाँकी रहेको एउटा ड्रेजर मेशिन पनि अस्थायी ज्यालादारी कर्मचारी आन्दोलनका कारण पूर्णतः बन्द भएको छ ।
जर्मन प्रविधिका महँगो विद्युत् उत्पादन उपकरण सञ्चालनमा लागि चाहिने उपकरण आपूर्तिमा पनि लामो समय लाग्ने र मर्मत खर्चसमेत निकै महँगो पर्ने भएकाले चतराको विद्युत् उत्पादन गृह सजिलै सञ्चालनमा आउन सक्ने सम्भावना कम रहेको बताइएको छ ।

बुध, फाल्गुन २, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया