आज २३ औं जनयुद्ध दिवस , नेकपा र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा मनाउँदै , एमाओवादीले चियापान गर्दै


काठमाण्डौ , १ फागुन ।
आज फागुन एक गते तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २३ औं जनयुद्ध दिवस मनाउँदैछन । विक्रम संवत २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।
नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको तत्कालिन माओवादीले २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि हतियार बिसाएको थियो ।
रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो । रोल्पाको होलेरी,रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धमा गरिब,किशान,मजदुर ,उत्पीडित जाति , छेत्र,लिङ्ग र समुदायले आफ्नो मुक्तिको सपना देखेर लामबद्ध बनेका थिए ।
१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । हजारौंको संख्यामा नागरिक वेपत्ता छन् ।
तर, विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् । बार बुदे सम्झौता हुँदै शान्ती प्रक्रिया पछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन ।
बिभाजित अवस्थामा रहेका तत्कालिन माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको पार्टी बाहेकले आ आफ्नै तरिकाले जनयुद्ध दिवश मनाउने गरेका छन् ।
बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवश मनाएका नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीले यसपटक संयुक्त रुपमा जनयुद्ध दिवश मनाउने तयारी गरेका छन् ।
तत्कालिन माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरिएपनि नयाँ जनवादी राज्यसत्ताको स्थापना हुन नसकेको भन्दै दुई पार्टीले यो दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउने तयारी गरेका हुन् ।
सो अवसरमा आज मध्यान्ह साढे १२ बजे राष्ट्रियसभा गृहमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य , नेपाल कम्य’निष्ट पार्टीका प्रवत्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्ड लगायतका शिर्ष नेताहरुले संबोधन गर्र्नुहुनेछ । साथै पछिल्लो समय माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको भन्दै असन्तुटि जनाएमा माओवादी नेताहरु गेपाल किराती , लोकेन्द्र विष्ट लगायतले पनि सहभागीता जनाउने बताईएको छ ।
उता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको जनयुद्ध दिवश भने केहि बर्षदेखि चियापानमा सिमित हुँदै आएको छ । आज पनि माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी जनयुद्ध दिवश मनाउदैछ ।
उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरेको माओवादीले जनाएको छ ।
पार्टी एकीकरण प्रक्रियामा अघि बढिरहेका बेला माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले ‘जनयुद्ध दिवस’ को अवसरमागर्न लागेको उक्त कार्यक्रममा सहभागी हुन ओलीलाई निमन्त्रणा गरिएको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले बताउनु भयो ।
कार्यक्रममा ओली उपस्थित भए अध्यक्ष प्रचण्ड र ओलीले सामूहिक रुपमा सम्बोधन गर्ने गरि तयारी गरिएको सापकोटाले बताउनु भयो ।
तर ओली उक्त कार्यक्रममा सहभागी हुने या नहुने भन्नेबारे केहि बताईएको छैन ।
माओवाद र कम्युनिष्ट आन्दोलन त्यागेका बाबुराम भट्टराईले भने नयाँ शक्ति पार्टी बनाएदेखि नै जनयुद्ध दिवश मनाउन छाडेका छन् ।
यसैबीच नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
तेइसौँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना वक्तव्य दिँदै महासचिव वैद्यले नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने बताउनुभएको छ ।
दश वर्षको जनयुद्धका बीचबाट जन्मिएको संविधानसभाले संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाएको भन्दै उहाँले यसले देश र जनताको सपना साकार हुन नसक्ने बताउनु भयो ।
वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको महासचिव वैद्यले बताउनु भयो ।
यसैबीच जनयुद्धको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले देशका बिभिन्न स्थानमा दिप प्रज्वलन गरेको छ ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया