प्रदेश नं ३ को सभामुखमा श्रेष्ठ निर्विरोध: तीन दशकको राजनीतिपछि प्रदेश सभामुख


काठमाडौँ, २७ माघ। 

प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वा्चित हुनुभएको हो ।

मनोनयनका लागि दिइएको समयभित्र उहाँको मात्र उम्मेदवारी परेको ३ नं प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

श्रेष्ठको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का सालिकराम जमरकट्टेल र समर्थक नेकपा (एमाले)का रामेश्वर फुँयाल रहनुभएको थियो ।

स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको हो ।

आफ्ना राजनीतिक समकालीन कतिपय साथी यसअघि नै पार्टीका पदाधिकारी र मन्त्रीसमेत भइसके पनि विचलित नभई पदभन्दा जिम्मेवारी पूरा गर्न कटिबद्ध श्रेष्ठ नेकपा (एमाले) नेतृत्वको निर्देशनबमोजिम सभामुखमा उम्मेदवारी दिन राजी हुनुभएको हो ।

प्रदेश नं ३ को अस्थायी मुकाम हेटौँडामा आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा त्यागी र स्वच्छ छविका श्रेष्ठ निर्वाचित हुनुभएपछि प्रदेश सदस्यले बधाई दिनेक्रम चलिरहेको छ ।

एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफू मुख्यमन्त्रीकै आकांक्षी भए पनि पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएकाले त्यसलाई शिरोधार्य गरेको बताउनुभयो ।

श्रेष्ठ प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौँ क्षेत्र २ प्रदेशसभा (क) बाट निर्वाचित हुनुभएको हो । सो प्रदेश क्षेत्रमा काठमाडौँ महानगरपालिका– ९ र ३२ पर्छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएको हो ।

कूल ११० सदस्य रहेको यस प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ । श्रेष्ठ एमालेको हाल वैकल्पिक पोलिटब्यूरो सदस्य, उपत्यका इञ्चार्ज र प्रदेशको प्रचार विभाग प्रमुख हुनुहुन्छ । सभामुख भएपछि पार्टीको जिम्मेवारी के गर्ने भन्ने निर्णय भइसकेको छैन ।

विसं २०१६ मा कीर्तिपुरको मच्छेगाउँमा जन्मिनुभएका श्रेष्ठ हाल नरेफाँट (कोटेश्वर) मा बस्नुहुन्छ । उहाँले अर्थशास्त्रमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

विसं २०३४ मा भूमिगत नेकपा (माले) बाट श्रेष्ठ कम्युनिष्ट राजनीतिमा लाग्नुभएको हो । उहाँ निरन्तर सोही आन्दोलनमा हुनुहुन्छ । विद्यार्थीकाल र पिपलबोट अनशन (२०३७) मा गरी पटक–पटक जेलनेल भोग्नुभएका श्रेष्ठले पञ्चायतकालमा पद्मरत्न तुलाधरको विजय जुलुशमा पञ्चायत पक्षधरको निर्मम कुटाई र यातना खानुभएको थियो ।

काठमाडौँ जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ २०६४ को संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रतिस्पर्धी हुनुभयो । त्यसबेला दुई पार्टीको अघोषित तालमेलका कारण प्रचण्डको विपक्षमा प्रचारमा नगई पराजय स्वीकार्नुभयो ।

आफ्नो क्षेत्रमा श्रेष्ठले एकीकृत वाग्मती सभ्यताको विकास, ग्रिन बेल्ट निर्माण, सुकुम्बासी व्यवस्थापन, अस्पताल विकास र शिक्षामा सुलभताजस्ता मुद्दा उठाउनुभएको थियो । यस्तै वाग्मतीमा झोलुङ्गे पुल विस्थापन गरी पुल निर्माण, करिडोर विकास, केवल बस सेवालाई पुनः उठाउनुभएको थियो । अब ती काम सभामुखका रुपमा पूरा गर्न पहल गर्ने उहाँले प्रण गर्नुभएको छ ।

शनि, माघ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य व्यक्ति व्यक्तित्व समाचार

Like us On Facebook

Follow Us On Twitter