सञ्चालक समितिको कडाईपछि दुध र घ्यु बेचेर खाने कर्मचारीको भागाभाग , पैसा नतिरे जागिरै चट् हुने सम्भावना !


काठमाण्डौ , १२ माघ ।

दुग्ध विकास संस्थान सञ्चालक समितिको कडापछि घ्यु , दुध लगायतका उत्पादन विक्रिमा भएको घोटालामा संलग्न कर्मचारीहरुले रकम बुझाउन थालेका छन् ।

मुख्य तीन दल आवद्ध कर्मचारी युनियनका नेताहरु नै मिलेर झण्डै तीन करोड रकम घोटाला गरेको पाईएपछि अहिलेको नयाँ सञ्चालक समितिले पैसा बुझाउन पत्र नै काटेको थियो ।

उक्त पत्र पछि संस्थानलाई तिर्नुपर्ने रकम नदिन खोज्ने कर्मचारीले आफ्नो भागमा रहेको रकम बुझाउन थालेका छन् । केहि समय अघि बालाजु, लैनचौर, हेटौडा,धनगढी लगायतका आयोजना शाखाबाट ३ करोड बढी बक्यौता देखाएर कर्मचारीहरुले मिलेमतो गरी दुध घ्युको रकम खाएको देखिए पछि उक्त रकम असुलीका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्ष रघु गौतमले पत्राचार नै गरेका थिए ।

तर त्यसपछि पनि रकम बुझाउन कर्मचारीहरुले खासै तत्परता नदेखाएकाले पुन मंगलबार सञ्चालक समितिको बैठकले आफ्नो भागमा रहेको तिर्नुपर्ने रकम भुक्तानी नगरेमा कार्वाहि गर्ने निर्णय गरेपछि भने कर्मचारीहरुबीच त्रास फैलीएको छ । स्रोत भन्छ अहिले कर्मचारीहरुबीच भागाभाग जस्तै भएके छ ।

उक्त निर्णयपछि भने बिहीबारसम्म विभिन्न आयोजनाका कर्मचारीले करिब ५० लाख रुपैयाँ दाखिला गरिसकेको स्रोतले जानकारी दिएको छ । तोकिएको मितिभित्र सबै रकम उठिसक्ने अपेक्षा राखिएको स्रोतको भनाइ छ ।

संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी र्पुयाउने गरी २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेको देखिएको हो ।

पटक–पटक व्यवस्थापनलाई कर्मचारीको दायित्वमा रहेको रकम उठाएर संस्थानको खातामा दाखिला गर्न निर्देशन दिए पनि अटेर गरेपछि रकम नउठे आफ्नो भागमा रहेको तिर्नुपर्ने रकम भुक्तानी नगर्ने कर्मचारीको बढुवा र ग्रेड रोक्का गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिइएको सञ्चालक समितिका सदस्य डा. विशाल बास्तोलाले बताउनु भयो ।

आयोजना प्रमुखले अटेर गरे महाप्रबन्धकले आयोजना प्रमुखकै ग्रेड रोक्काको कारबाही गर्न निर्देशन दिएका छन् ।

आगामि माघ २० गते सम्म बक्यौता नतिर्ने कर्मचारीलाई माघ २१ गते बाट कार्वाहि गर्ने सञ्चालक समितिका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

२१ गतेबाट स्पष्टिकरण सोध्ने , चित्तबुझ्दो स्पष्टिकरण नआए निलम्बन गर्ने र सो अवधिमा पनि पैसा नबुझाए जागिर नै जाने सम्भावना रहेको स्रोत बताउछ ।

धेरै कर्मचारीले दूध, दही, घिउ, पनिरलगायत बिक्रीबाट जम्मा गर्नुपर्ने राजस्वबापतको रकम दाखिला गरेका छैनन् । त्यस्तै उत्पादन केन्द्रबाट गोदाममा सामान राख्दा हिनामिना गरिएको छ ।

 

यो पनि पढ्नुहोस्

डिडिसीको घ्यु बेचेको ३ करोड कर्मचारीले मिलेर यसरी खाएछन्

शुक्र, माघ १२, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter