अध्यक्ष छोड्ने भनेको छैन-प्रचण्ड


काठमाडौं । उपचारबाट फर्केपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच तीन घण्टा लामो वार्ता भएको छ । ओली निवास बालकोटमा शुक्रबार दिउँसो १ बजेदेखि सुरु भएको वार्ता ४ बजेसम्म चलेको थियो ।

दुबै अध्यक्षबीच राष्ट्रिय सभा निर्वाचनको लागि कार्यदलले तयार गरेको रिपोर्ट, पार्टी एकता र प्रदेश सरकारको गठनबारे छलफल भएको बताइएको छ । वार्ता लामो भएको तर निकै सकारात्मक भएको नेताहरुले बताएका छन् ।

कुराकानीको क्रममा शनिबार दुबै पार्टीले आन्तरिक छलफल गर्ने र आइतबार संयोजन समितिको बैठक बोलाउने दुबै अध्यक्ष सहमत भएका छन् । तर पार्टी एकता की सरकार पहिलो भन्नेमा टुंगो लागि नसकेको स्रोतले बतायो ।

सरकारले बुधबार गरेको प्रदेश प्रमुखको नियुक्ती र अस्थायी राजधानीबारे साझा धारणा सार्वजनिक गर्न पनि ओली–प्रचण्ड सहमत भएका छन् ।

त्यसैगरी पार्टी एकताका लागि संगठनात्मक संरचना कस्तो बनाउने भन्ने बारेमा पनि ओली र प्रचण्डबीच बृहत छलफल भएको बताइएको छ । साथै सरकार गठन विधि, प्रक्रिया, मन्त्री फाँडफाँडलगायतका विषयमा पनि गभ्भीर छलफल भएको बताइएको छ ।

एमाले, माओवादी केन्द्रलगायतका वामपन्थी शक्तिबीच पार्टी एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक र संगठनात्मक दाँचा, नीति सिद्धान्त र कार्यनीतिका बारेमा पनि गहन छलफल भएको छ ।

बैठकमा प्रचण्डले अध्यक्ष छोड्न तयार भएको विषयमा ओलीले जिज्ञसा राखेका थिए । जवाफमा प्रचण्डले आफूले त्यसो नभनेको बताएका थिए ।”एकता विरोधी केही संचारमाध्यमले गलत प्रचार गरिरहेका छन् । मैले नभनेको कुरा कथा बनाएर समाचार बनाएको तर मैले एकीकृत पार्टीको अध्यक्ष हुँदैन भनेको छैन” ओलीसँगको कुराकानीको क्रममा भनेको प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो ।

केही दिन पहिले केही संचारमाध्यमहरुले एमालेलाई अप्ठ्‍योरो हुने भए अाफू केन्द्रीय सदस्य बन्‍न तयार भएको बताएका थिए । यसलाई प्रचण्डले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै स्वीकार गरेको अर्थ लगाइएको थियो ।

लगातार तीन घण्टासम्म कुराकानीमा सबै विषयमा छलफल भएपनि ओली-प्रचण्डबीच कुनै सहमति भएको छैन ।

अाजै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच विश्वासको संकट रहेको बताएका थिए । उनले दुबै नेताले त्यो खाडल कम गरिरहेको बताए । नेता पौडेलले ओली र प्रचण्डको सांगठानिक व्यवस्थापन नभएसम्म पार्टी एकता हुन नसक्ने बताएका छन् । उनले पार्टी एकता ओली र प्रचण्डको व्यवस्थापनमा अडिएको दाबी गरेका छन् ।

मिडियामा अाएजस्तै प्रचण्ड नेतृत्वको लागि सहज भएको अनुमान गरेका ओलीले प्रचण्डको कुरा सुनेपछि कुनै जवाफ नदिएर बसेको बताइएको छ ।

शुक्र, माघ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया