संघीय स्वरुपको वन नीति ल्याइँदै , यस्तो छ मस्यौदा


काठमाडौँ, ५ माघ
सरकारले संघ, प्रदेश र स्थानीय तहमा वन तथा वन्यजन्तुको व्यवस्थापन गर्ने गरी ‘राष्ट्रिय वन नीति, २०७४’ ल्याउने तयारी गरेको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयले वन, जैविक विविधता र जलाधार क्षेत्रको दिगो व्यवस्थापनद्वारा जनता र राष्ट्रको समृद्धिमा योगदान पु¥याउने दूरदृष्टिका साथ नयाँ वन नीतिको मस्यौदा तयार हो ।

वन क्षेत्रलाई बहुसंख्यक जनताको प्रमुख स्रोतको बुद्धिमतापूर्ण उपयोग गर्दै जीविकोपार्जनमा सुधार र वातावरणीय सेवाको सुनिश्चितताका लागि संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने गरी वन नीति तर्जुमा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वन नीति, २०७१ लाई समसामयिक समीक्षा गरी संविधानअनुसारको नयाँ नीति तयार गर्न सहसचिव पेमनारायण कँडेलको संयोजकत्वमा सम्बन्धित सबै महाशाखाका प्रमुख सम्मिलित मस्यौदा तयारी समिति गठन गरेको थियो ।

समितिले सरोकारवाला निकाय र संस्थासँग विभिन्न चरणमा छलफल गरी प्रारम्भिक मस्यौदा तयार गरेको सहसचिव एवं समिति संयोजक कँडेलले जानकारी दिनुभयो । समितिले थप छलफल गरी प्राप्त सुझावलाई समेटेर अन्तिम रुप दिनेछ । मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै लागू हुनेछ ।

नीतिले कूल भूभागको कम्तीमा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने कार्यनीति लिने उल्लेख छ । प्रदेशमा हाल कायम रहेको वन क्षेत्र नघट्ने गरी वनको संरक्षण तथा व्यवस्थापन गर्ने तथा प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्र १० प्रतिशत वन कायम गर्ने मस्यौदामा उल्लेख छ ।

नीतिले वन क्षेत्रको संरक्षण, संवद्र्धन एवं व्यवस्थापनमा निजी क्षेत्रलाई समेत संलग्न गराई आय आर्जन तथा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्य लिएको छ ।
त्यस्तै जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकूलनका उपाय अवलम्बन गर्ने, वनसम्बन्धी अन्तर्रा्ष्ट्रिय प्रतिबद्धतालाई समाहित गर्ने निर्देशक नीतिहरु समेटिएको सहसचिव कँडेलले बताउनुभयो ।

नीति कार्यान्वयनका लागि सरकारबाट वार्षिक बजेटको व्यवस्था गरिने र विभिन्न दातृ निकायबाट सहयोग लिन सकिने मस्यौदामा उल्लेख छ ।
नीति कार्यान्वयनका लागि विभिन्न संघसंस्था र समूहको स्रोत परिचालन गरिनेछ भने कार्यान्वयनको नियमित अनुगमनको कार्य तीनै तहको सरकारबाट गरिनेछ ।

शुक्र, माघ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter