विश्वयुद्धको एउटा सिपाही 


रेस्टुरेन्टका वेटर अर्डर लिन आए । अण्डालाई मुस्किलले ‘एग’ भन्न जानेका थिए गजेले । गजेले कनेर अर्डर दिए– ‘टु एग’ । त्यो टुटेफुटेको अंग्रेजीलाई वेटरले ‘पिग’ बुझे र दुई प्लेट सुँगुरको मासु ल्याइदिए ।

 

काठमाडौँ , गोरखाको बारपाक अलि फरक कारणले चर्चित छ अचेल । अढाइ वर्ष अघि ९ हजारको ज्यान लिनेगरी गएको भूकम्पको इपिसेन्टर थियो यो । त्यसअघि पनि ओझेलमा भने थिएन यो गाउँ । दोस्रो विश्वयुद्ध लडेर भिक्टोरिया क्रस पाएका गजे घले यहीँका थिए । उनकै नामकामले चम्किएको ठाउँ हो यो ।

त्यो भेगका सबैको देनिकी कठिन थियो त्यतिबेला । नुन लिन तिब्बती सीमा केलोङ जानुपथ्र्यो । दोहोरो आदानप्रदान थियो बारपाकवासीको दक्षिण सीमामा रहेका तिब्बतीसँग । मितेरी साइनो थियो । बारपाकबाट केलोङ पुग्नै एक साता लाग्थ्यो । ओडारमा बास बस्दै भेडा काटेर खाँदै केलोङ पुग्थे बारपाकवासी । मकै, कोदो, दाल समूहमा लगेर तिब्बतीलाई दिएर बदलामा नुन ल्याउँथे । सबैखाले उमेर समूहका मान्छे बारपाकबाट नुन लिन तिब्बत जान्थे । तिब्बतीहरू बारपाकवासीलाई चौरीको मासु खुवाएर पठाउँथे ।उबेलाको पश्चिम २ नम्बरस्थित बारपाकका विक्रम घलेका तीन श्रीमती, ७ छोरा र ७ छोरी थिए । पहिलो श्रीमती बितेपश्चात दोस्रोबाट तीन छोरी जन्मिएपछि धर्ती टेक्ने पालो गजेको आएको थियो। उनी जन्मिने बेलामा विक्रमले सपनामा हात्ती देखेका थिए । संस्कृतमा हात्तीलाई गज: भनिन्छ । विक्रमले त्यही नाम आफ्नो छोराका लागि जुराए ।

११–१२ वर्षको उमेरमा गजे साहसिक यात्रा गरेर केलोङ नुन लिन पुग्थे । यही संघर्षले होला, हठी बनाएको थियो उनलाई । खान, लाउन र बस्नकै समस्या थियो त्यतिबेला, गजेले पढ्न पाउने कुरै भएन । गजे आफ्ना बाजे जितमानसँग बारपाकबाट एक दिनजस्तो हिँडेर पुगिने दोर्जे डाँडामा गोठमा बस्थे । भैंसी, भेडा, गाई पालेका थिए हजुरबाउ– नातिले । घलेहरू खसी–बाख्रा नखाने, त्यही भएर पाल्दैनथे ।
***
गल्लावाला हस्त गुरुङ आएका थिए बारपाकमा भर्ती हुने केटाहरू खोज्न । गल्लावालले छनोट गरेपछि लाहुरेमा भर्ती हुने छनोट प्रक्रिया अगाडि बढ्थ्यो । गजे र उनका दाइ मोतीलाल (सौतेनी आमाको छोरा) पनि छनोट भएर भर्ती हुन गोरखपुरको कुरनाघाट जाने भए । गजेले यो सवै कसैलाई भनेनन्, हजुरबुबाबाहेक । हजुरबाउले नै बाटो खर्च जोगार गरिदिए दुवै नातिलाई ।
पहिलो दिनको रात उनीहरू तामाङ गाउँमा बास बसे गुम्बामा । गुम्बामा लामा थिए । उनी हात हेरेर भविष्यवाणी गर्थे । पहिला मोतीलालले हात हेराए । लामाले केही समस्या देखेनन् । गजेलाई भने लाहुरे भर्ती हुन शारीरिक समस्या हुने र समय लाग्ने बताइदिए । तर लामाले थपे, ‘भर्तीपछि भने तिमीले ठूलो नाम कमाउनेछौ ।’
तराईको फाँट घले दाजु भाइले कहिल्यै देखेका थिएनन् । भर्ती हुन जाने अरू त मजाले हिँडे । तर गजेको खुट्टा सुन्नेर हात्तीकै जत्रो भयो । बारपाक फर्किने स्थितिमा पुगेका थिए उनी । सन् १९३४ को प्रसङ्ग थियो यो । गजे हिँड्न नसक्दा अरूलाई ढिलाइ भइसकेको थियो । भोलिपल्ट कुरनाघाट पुगेर भर्तीका लागि लाइन लाग्नु थियो । गजेलाई बीच बाटोमा बोकेरै लानुपर्ने भयो । नोभेम्बर १५ मा भर्तीका लागि
कुरनाघाटमा उभिए मोतीलाल र गजे ।
लाइनमा उभिएकाको शारीरिक बनोट हेर्न उस्तादहरू आए । सबैलाई छान्दै गए । उमेर सानो देखेर गजेलाई फालिदिए । छानिएमा गल्लावालले पनि पुरस्कार पाउँथ्यो । गजेलाई लिएर गएका गल्लावाल हस्तले उनलाई देखाउँदै ‘यो तगडा र बलियो छ’ भन्दै अंग्रेज अधिकारीसँग राख्न अनुरोध गरे । हिँडाइका कारण गजेको अनुहार सामान्य स्थितिको थिएन, त्यति मात्र हो । अंग्रेज अधिकारीले गजेलाई उमेर कम छ तिमी अहिले व्वाइज कम्पनीमा बस भने । कम उमेरकालाई ब्वाइज कम्पनीमा राखिन्थ्यो । त्यहाँ खान, बस्न मात्र दिइँदैनथ्यो, पढाइदिन्थ्यो पनि । गजेका लागि त्यहाँ पढ्ने अवसर थियो । तर उनले क, ख टिप्नै सकेनन् ।
यसबीचमा कुरनाघाटमा भर्ती हुन अर्को समूह आइसकेको थियो । त्यसमा बारपाक वरपरका पनि केही थिए । कसैले सुनाइदिएछन् गजेलाई, उनको फुपू बितेको खबर । गजे रातभरि नसुती रोइरहे । भोलिपल्ट आफू आउन नसक्नै भन्दै साथीलाई चिठी लेख्न लगाएर गाउँ पठाए । त्यसपछि मात्र गजेलाई पढाइको महत्व महसुस भयो । सवै सुतेपछि गजेको रातभरि बाह्रखरी सुरु हुन्थ्यो । व्वाइज ट्रेनिङ, रिक्रुमेन्ट ट्रेनिङको आठ महिना उनको कखरामै बित्यो ।
गजेका दुई श्रीमतीका ४ छोरा र ५ छोरीमध्येका माहिला छोरा हुन् केशर । ‘भिक्टोरिया क्रसभन्दा कठिन काम रहिछ पढ्न,’ आफ्ना वुवाले भनेको यो लाइन केशर कहिल्यै बिर्संदैनन् । पढाइ नभएका कारण फिल्ड वर्कमा राम्रो गरे मात्र सेनामा टिक्न सकिन्छ भनेर गजेले बुझिसकेका थिए ।
गजेको पढाइकै सम्बन्धमा अर्को प्रसंग खास छ । केशरबाहेक गजेका छोराहरू हुन् डम्बर, यामबहादुर (वाईबी) र टारस अनि छोरीहरू इन्द्रा, कुमारी, निर्मला, योगमाया र नितु । जेठो डम्बरले स्कुल पढाइ दिल्लीमा सकाउन लागेका थिए । चिने–जानेका भने डम्बरलाई भिक्टोरिया क्रस विजेताको छोरो भन्थे । तर उनलाई भने भिक्टोरिया क्रसको महत्त्वबारे केही थाहा थिएन । त्यसैले भिक्टोरिया क्रसबारे जान्न दिल्लीबाट भारत, उत्तराखण्डको अलमोडामा भएका वुवालाई पत्र पठाए, २२ वटा प्रश्न लेखेर । गजेले त्यसको जवाफ रोमन लिपिमा नेपालीमा लेखेर पठाइदिए, जसमा युद्ध लडेको देखि पाएका सबै पदकको वृत्तान्त छ । घले परिवारलाई अहिले यही किंवदन्ती भएको छ ।
***
गजेको पोस्टिङ हालको पाकिस्तानस्थित अबोट्टाबादमा थियो । केही वर्षअघि बिन लादेन मारिएको यो स्थान इस्लामाबाद नजिकै छ । गजे पुग्दा ५ गोर्खा राइफलको ग्रुप सेन्टर थियो त्यहाँ । अफगानिस्तानका पठानहरू आफ्नो क्षेत्र नजिक आएर बसेकाले ब्रिटिसहरूप्रति आक्रामक थिए । पठान समूहले गोर्खा राइफलका जवानहरूसँगै एक अधिकारीको हत्या गरिसकेका थिए ।
१९३७ मा ११ पिकेटमा आक्रमण गरे अफगानहरूले । गोर्खा राइफलतर्फ फेरि हताहत भयो । हतियार सबै लुटेर लगे । १०–११ जनाको ज्यान गयो । तिनमा एक नन्दलाल घले पनि थिए । गुरुङ थरका अर्का एक सैनिक घाइते भए । दुवैलाई ‘इन्डियन अर्डर अफ मेरिट अवार्ड’ दिइएको थियो । बेलायती नागरिकबाहेकलाई त्यत्तिखेर दिइएको सबैभन्दा ठूलो पदक थियो यो । यही आक्रमणमा राम्रो गरेकाले बढुवा भएर उस्ताद भए गजे । अनि नयाँ जवानलाई तालिम दिने भए । पछि त्यहीँ हबल्दार पनि बने ।
दोस्रो विश्वयुद्ध सुरु हुन लागेको थियो । हिट्लरको अहम्मा इटाली र जापानको साथ थियो । यी तीनको एक्सिस पावरको जवाफमा अलाइज लागेको थियो । अलाइजमा बेलायत, फ्रान्स, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, सोभियत युनियन, चीन र अमेरिका थिए । पाउल हर्बर आक्रमणपछि अमेरिका अलाइजमा आएको थियो ।
गजे समावेश युनिट १९३८ मध्यप्रदेशको बबिना सागर पुगेको थियो । घले त्यहीँ दोस्रो विश्वयुद्धबारे सुने । बीचबीचमा एबोट्टाबादस्थित ट्रेनिङ सेन्टर पनि गइरहनुपथ्र्यो उनी ।
१९४२ को सुरुमा गजेलाई ६ महिनाको छुट्टीवाला पत्र आयो । त्यसको अर्थ विश्वयुद्ध लड्न जानु थियो । विश्वयुद्धमा जानुअघि घर जान ६ महिना छुट्टी दिइन्थ्यो । गोर्खा फर्किएका गजेले पहिलो विवाह गरे दिवान घलेका जेठी छोरी धनसुबासँग । बिदा सकिएपछि युद्धमा फर्किनुपर्छ भनेर पहिल्यै भनिएको थियो । गजे विवाहपछि युद्धमा फर्किने दिन ठूलो वर्षा भएको थियो । हिँडेर कुरनाघाट पुग्नु थियो । गजे र श्रीमती छुट्टिने बेला निकै रोएका थिए । गजेको बटालियन मद्रास पुगेको थियो । त्यहींबाट पानीजहाजमा बर्माको रंगुन पुग्नु थियो ।
बेलायती मातहतको भारतीय सेना अलाइजमा थियो । जापानको फौज बर्मा छिरिसकेको थियो । गजेको पल्टन १७ ब्ल्याक क्याट डिभिजनको ४८ बिग्रेडमा थियो । जापानी फौज बर्माको चीन हिलमा पुगेको थियो । १७ ब्ल्याक क्याट डिभिजनमा थिए जनरल स्लिम । पछि उनी बेलायती सैनिक प्रमुख भए । इस्ट बासा हिल्स एउटा ब्रिटिस भारतीय सैनिक र दुईवटा जापानी सैनिकको नियन्त्रणमा थियो । ब्रिटिस भारतीय सैनिक ती दुई हिल्सबाट जापानी सेनालाई युद्धमा हराएर पठाउन चाहन्थ्यो । बीचको हिल अलिक चुचुरोवाला थियो । त्यही कारण जापानी राम्रोसँग पोजिसन लिएर बसेका थिए ।
१९४३ मे २४ मा ब्रिटिस भारतीय सेनाका पहिला दुई आक्रमण असफल भइसकेका थिए । धेरै त्यहाँ मारिएका पनि थिए । कम्पनी कमान्डर डेनिस थिए । तेस्रो आक्रमण सुरु भयो । जापानले हवाई आक्रमण गर्‍यो । बमको धूलो र धूवाँले साढे दुई घण्टा केही देखिने स्थिति थिएन, पूरै अन्धकार । गजेसहितको टोली बङ्करमुनि बसेको थियो ।
मे २७ को बिहान १०–११ बजे सुरु भएको थियो तेस्रो आक्रमण भयो दोस्रो हिल्समा । १५ फिटजति चौडा उकालो डाँडो लाग्नु थियो । बीच बाटोमा पुग्दै गोली सकिएको थियो । बाँचेका थिए ४–५ जना । २०–२५ फिटमाथि थियो जापानी फौजको बंकर । गजेले तल रहेकालाई चिच्याएर सोधे, ‘कसैसँग बारुद बाँकी छ ?’ तल एक गोर्खाली सिपाहीले ६–७ वटा ग्रिनेड बाँकी रहेको तर आफू घाइते रहेकाले माथि जान नसक्ने बताए । गजे आफैं तल गए ती ग्रिनेड लिन । जापानी फौजले हानेको एक गोली गजेको हेल्मेटमा लाग्यो । सीधा लागेको भए त्यो गोली टाउकोभित्र छिथ्र्यो । तर छेउमा लागेकाले हेल्मेट मात्रै उड्यो । गजेलाई केही भएन । तुरुन्तै उनी आफ्नो साथी भएको स्थानमा पुगे । केही टाढा बसेर ब्रिगेडियर क्यामरुनले गजेको टोलीलाई बायरलेस अप्रेटरबाट हौस्याइरहेको थिए । पहाडको अर्को भागमा अर्को ब्रिगेडका ६–७ जना बाँचेका रहेछन् । उनीहरू पनि गोला बारुद सकिएर बसेका ।
गजे आफ्नो साथमा रहेको ६–७ वटा ग्रिनेड लिएर बढ्न तयार भए । उनले अरू साथीलाई कभरिङ फायर गर्न भने । त्यसको मतलब फायर एकातिर हुन्थ्यो लक्ष्य अर्कैतिर । त्यही मौकामा गजे फायरिङको विपरीत दिशाबाट जापानी बंकरछेउ पुगे । उनले फालेको ग्रिनेड बंकरभित्र पस्यो । मेसिनगन चलाउनेसहित केही जापानी त्यहीं मरे । उनीहरू पनि गोला बारुद सकिएकाले बंकरको सहायता लिएर बसेका रहेछन् । जापानीहरू ‘क्लोज कमब्याट’ को स्थितिमा पुगे । अर्थात् गोली नभएको बन्दुकले हानेर वा मुक्काले हानेर मार्ने । त्यही बेला गजेले तल रहेका आफ्ना साथीहरूलाई बोलाउँदै खुकुरी निकालेर ‘आयो गोर्खाली’ भन्दै १३ जापानीलाई छप्काइदिए । साँझ ७ बजे गजे एक्लै चुचुरोमा पुग्दा जापानी भागिसकेका थिए । त्यो हिल जितेको भनेर भेरिलाइट फायरिङ गरे उनले । त्यसपछि गजेका अन्य साथीहरू आए । जापानीहरू फेरि आक्रमणमा आए तर सकेनन् ।
ब्रिगेडियर क्यामरुनले गज्जबको लडाइँ भन्दै गजेलाई अर्को हिलबाट आएर धाप मारे । तर उनको स्थिति दयनीय थियो । ग्रिनेड फुटेर गजेको काँध, हात, खुट्टा र पेटमा लागेको थियो । रगतले लत्पतिएका थिए उनी । त्यस्तो स्थितिमा पनि दोस्रोपटक लड्न आएका जापानीसँग उनी प्रत्याक्रमणमा जान खोजेका थिए । तर उनलाई जान दिइएन । क्याम्पका डाक्टरले उनको त्यहाँ उपचार हुन नसक्ने जनाए । रातारात ४–५ घण्टा जिपमा राखेर उनलाई नागाल्यान्डको कोहिमा पुर्‍याइयो । अस्पतालमा डाक्टरले इन्जेक्सन लगाउन खोजे । उनले मानेनन् । गजेले हेरी–हेरी डाक्टरले उनको काँधबाट दुई गोली निकाले । केशर भन्छन्, ‘केही समयसम्म बुबाको गोली लागेको काँधमा दुई औंला छिथ्र्यो ।’
गजे एक महिनाजस्तो फिल्ड अस्पतालमा बसे । लडाइँमा रगत निकै बगेकाले उनी निकै कमजोर भएका थिए । पिप जमेर काँध बेस्सरी सुन्निएको थियो । तगडा बनाउन डाक्टरले मासु खान दिएका थिए । उनले खाएनन् । किनेभने त्यो खसीको मासु थियो । पछि डाक्टरको अनुरोधकै कारण मात्र पहिलोपटक उनले खसी खाए ।
***
कोहिमा सैनिक अस्पतालबाट गजेलाई सिलोङ पठाइएको थियो । १९४३ सेप्टेम्बर ३० मा गजेले भिक्टोरिया क्रस पदक पाउने घोषणा भयो । ब्रिगेडियर क्यामरुनले बीबीसी रेडियोमा यो घोषणा सुनेका थिए । त्यतिखेर क्यामरुन हिल्समै थिए । उनी सीधै गाडी लिएर सिलोङ पुगी गजेलाई बधाई दिए । गजेलाई भने भिक्टोरिया क्रसको अर्थ केही थाहा थिएन । क्यामरुनले ट्रेनिङ सेन्टरका सबैलाई उभ्याएर गजेजस्तो काम गर्नुपर्छ भनेर उदाहरण दिए । बर्मा युद्ध लडेकाहरूमा भिक्टोरिया क्रस पाउने उनी पहिलो थिए । सेकेन्ड फाइभ गोर्खा राइफल (फ्रन्टियर फोर्स) बाट तीन भिक्टोरिया क्रस पदक पाउने यो एउटै युनिट हो । गजेसँगै त्यो युनिटका नेत्रबहादुर थापा, अगनसिंह राईले यो पदक पाएका थिए । हिल्समै लडाइँमा ज्यान गुमाउँदा नेत्रको हातमा खुकुरी थियो । बर्मा युद्ध लड्ने ७ गोर्खालीले भिक्टोरिया क्रस पाएका थिए ।
ब्रिगेडियर क्यामरुनले सैनिकको मनोबल उच्च पार्न गजेलाई चीन हिलको युद्ध क्षेत्र लैजान्थे । गजेको सफलतामा क्यामरुनले त्यहाँ पार्टी दिएका थिए । जापानीले माइनफिल्ड बिच्छाएको उक्त क्षेत्रमा जना भने गजेलाई क्यामरुनले रोकिदिए । गजेलाई अर्कै काममा पठाइदिए । माइनफिल्ड क्षेत्रमा गएका अर्का सैनिक त्यहीं एम्बुसमा परेर ज्यान गुमाए ।
पछि एबोट्टाबाद फर्किंदा गजेलाई जिपमा उभ्याएर लगिएको थियो । सलामी परेडसहित रातो कार्पेट
बिछ्याएर स्वागत गरिएको थियो उनको । १९४४ जनवरी ४ मा भिक्टोरिया क्रस पदक थाप्न उनी दिल्ली पुगे । लर्ड वाभेलले उनलाई उक्त पदक लगाइदिए । २ महिना त फोटो सेसन र पार्टीका लागि छुट्टयाइएको थियो घलेको समय ।
स्वाभाविक थियो, गजेको सफलता नेपाल आइपुग्यो । नेपाल सरकारबाट खबर गयो गजेलाई लिएर आउनू । अमलेखगन्जमा जुद्धशमशेरले नेपाल–तारा पदक लगाइदिए गजेलाई । अनि राजाले काठमाडौं बोलाएको खबर सुनाए । काठमाडौं आएपछि गजेले राजा त्रिभुवनको दर्शनभेट पाए । सफलताको उत्सव जारी थियो । पछि राजा महेन्द्रको राज्याभिषेकमा पनि गजेलाई भारतबाट बोलाइएको थियो ।
गजेको पल्टनलाई १९४६ मा पानीजहाजमा जापान लगिएको थियो । ब्रिटिस सैनिक अलाइज फोर्सलाई सोही वर्ष भिक्ट्री परेडका लागि लन्डन बोलाइयो । राजा जर्जसँग उनको दर्शनभेट भयो । परेडका लागि एक महिनाजस्तो रिहर्सल भएको थियो । गजे र अगन सिंह एक दिन रिहर्सलबाट छुट्टिएर खाजा खाना निस्के । दुवैको अंग्रेजी फुट्टो थिएन । रेस्टुरेन्टका वेटर उनीहरूसँग अर्डर लिन आए । अण्डालाई मुस्किलले ‘एग’ भन्न जानेका थिए गजेले । गजेले कनेर अर्डर दिए– ‘टु एग’ । त्यो टुटेफुटेको अंग्रेजीलाई वेटरले ‘पिग’ बुझे र दुई प्लेट सुँगुरको मासु ल्याइदिए । गजेलाई सुँगुर नचल्ने । तर ‘ओके, यस, थ्याङ्क यु, गुड मर्निङ’ बाहेक अंग्रेजी अरू केही नजानेकाले गजेले त्यो सुँगुर फर्काएर लैजाऊ पनि भन्न सकेनन् । घले जातिले सुँगुर खाँदैनथ्यो । अगन सिंहलाई भने खोजेको आहारा थियो त्यो । उनले स्वादका साथ खान सुरु गरेपछि गजे पनि खान बाध्य भए । दुवैले मीठो लागेपछि थपेर पनि खाए ।
***
भारतको स्वतन्त्रता आन्दोलन चल्दै थियो । गोर्खा राइफलका ४ बटालियन बेलायतले लग्यो । ६ वटा भारतमै रहे । बेलायतले भिक्टोरिया क्रस विजेतालाई उता लैजान ठूलो कसरत गर्‍यो । तर, उनीहरूले
आफ्नो बटालियन जहाँ बस्छ त्यही जाने उत्तर दिए । सेकेन्ड फाइभ जीआर भारतमै बसेको थियो ।
उनीहरू त्यहीं बसे । सन् १९१४ देखिको १९१८ सम्मको पहिलो विश्वयुद्धमा १० जनाले भिक्टोरिया क्रस पाएका थिए, त्यसमा दुई गोर्खा सैनिक थिए । दोस्रो विश्वयुद्धमा ३० जनाले भिक्टोरिया क्रस पदक पाए, त्यसमा १२ गोर्खाली थिए । रामबहादुर लिम्बूले मलाय युद्धका लागि १९६५ मा यो पदक थापेर भिक्टोरिया क्रस पाउने १३ औं गोर्खाली बनेका थिए ।
***
१९५० को सुरुआतमा धनसुबाको निधनपछि धनकुरीसँग गजेले विवाह गरे । धनसुबाकी बहिनी थिइन् धनकुरी । धनकुरीको गत महिना ९० वर्षको उमेरमा ललितपुरको नख्खुमा निधन भएपछि उनको परिवारिक जमघट हुन पुगेको थियो । डम्बर र केशर जेठीपट्टिका छोरा हुन् । डम्बर बेलायत र केशर भारतको कालिङपोङमा बस्छन् । यामबहादुर (वाईबी) सँग ललितपुरमा बसेकी थिइन् आमा । वाईबी नेपालका पूर्व फुटबल खेलाडी हुन् । कान्छो छोरो टारस पनि लन्डन बस्छन् । छोरीहरूमा इन्द्राको २० वर्षअघि भारतमा मृत्यु भएको थियो । अन्य छोरीमा कुमारी, निर्मला, योगमाया र नितु छन् ।
गजेको सन्तानमा डम्बर मात्र लाहुरे बने, भारतीय गोर्खा सैनिकमा । १९७१ मा भारत र पाकिस्तानको युद्धमा डम्बरलाई पनि टाउकोमा लगाएको हेलमेटमा गोली लाग्यो, गजेलाई जस्तै । उनी भनन् परेर ढले । युद्धमा जानुअघि ‘मैले सिकाएर मात्र हुने होइन युद्ध लड्न जाँदा, आफूभित्र आँट पनि हुनुपर्छ’ बुबाले भनेको उनलाई ताजै थियो । डम्बरका लागि सैनिक जागिर लामो समय रहेन ।

***

१९५५–५६ मा भारतका पहिलो राष्ट्रपति डा. राजेन्द्र प्रसादसँग गजेको भेट भएको थियो । राष्ट्रपतिले गजेलाई के चाहिन्छ भनेर सोधे । गोर्खा फौजको पेन्सन कम्ती छ र पेन्सन थाप्न कुरनघाट जानुपर्ने धेरैलाई अप्ठयारो रहेको बताए । घले परिवार त्यसपछि नेपालमा गोर्खा राइफलको पेन्सन पाउन सुरु भएको दाबी गर्छ । त्यसपछि पेन्सन पनि बढेर आएको थियो । १९६५ को फेब्रुअरी ४ मा रिटायर्डपछि अलमोडास्थित क्यान्टोनमेन्ट क्वार्टरमा बस्दै आएका थिए गजे । १९९४ मा नेपालमा भीसी (भिक्टोरिया क्रस पदकधारी) सम्मेलन हुँदा उनीहरूलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्मान दिएका थिए ।
गजे अहिले बाँचिरहेको भए सय वर्ष हाराहारीमा हुन्थे । उनको खास जन्ममिति १९१९ अगस्ट १ हो । तर त्यो मितिले उनलाई कम उमेरका कारण १९३४ म भर्ती दिलाउँदैनथ्यो । त्यसैले भर्ना लिने बेला उमेर बढाएका थिए । सन् २००० मार्च २८ मा दिल्लीको बत्रा अस्पतालमा ८१ वर्षको उमेरमा गजेको निधन भएको थियो ।
२०१६ को अगस्टमा इंग्ल्यान्ड जाँदा विनचेस्टरको गोर्खा संग्रहालयमा गजेको जवान छँदाको सिपाही तस्बिरले मेरो ध्यान तानेको थियो । लन्डनको बकिङ्घम प्यालेससँगैको डाउनिङ स्ट्रिटको हाइड पार्कमा ठडयाइएका पिलरहरूमा भिक्टोरिया क्रस विजेता गजेसहितको नाम कुदिएको पनि देखेको थिएँ । गजेको साँहिला छोरा वाईबीसँग आउने जाने भए पनि गजेले पाएको भिक्टोरिया क्रस पदक मैले हेर्न पाएको थिइनँ । धनकुरीको मृत्युमा गजेको सबै परिवार एकै ठाउँ भएको समयमा मैले सोधेको थिएँ, आखिर भिक्टोरिया क्रस पदक कहाँ छ ? केशरले भने, ‘धेरैले यो बेचे, हामीले सुरक्षित राखेका छौं तर कहाँ छ भन्दैनौं ।’कान्तिपुरबाट साभार

शनि, पुस १५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार