कुर्सीका सदाबहार खेलाडी प्रेमबहादुर सिंहको ‘प्रेम लीला’

तीन श्रीमतीका पति ६ पटक बने मन्त्री


काठमाडौं ,पुस ८ ।

सानो दलमा बसेर पनि निरन्तर कुर्सीका खेलाडी प्रेमबहादुर सिंह यो पटक पनि समानुपातिकबाट सांसद बन्ने पक्का भएको छ । प्रेमबहादुुर सिंहको समाजवादी जनता पार्टी जस्तै अन्य साना दलले थ्रेस होल्ड कटाउन नसक्दा पानी पनि पिउन सकेनन् । तर उनी आफैँ भने यो पटक पनि कुर्सीका खेलाडी बन्ने ढोका खुलिसकेको छ ।

आफ्नो दल नै यो निर्वाचनबाट हराउने अवस्था आएपछि उनले माओवादीका नेतालाई फकाउन भ्याइहाले । सिंह माओवादी केन्द्रबाट सांसद बन्ने भएपछि लगातार पाँच पटक उनको संसद यात्रा तय भएको छ ।

माओवादी केन्द्रले निर्वाचन आयोगलाई पठाउन लागेको समानुपातिक सूचीमा परेका २ पुरुष सांसदमध्ये सिंह पनि एक हुन् । माओवादीले समानुपातिकको खर्सआर्य सूचीको एक नम्बरमा रहेका नेता हितराज पाण्डेसँगै पिछडिएको क्षेत्रबाट सिंहको नाम समेत पठाएको छ । आयोगमा नाम पठाइएपछि सिंह सांसद बन्ने पक्का भएको हो । २०४८ सालदेखि सिंह निरन्तर सांसद हुदै आएका छन् ।

यस्तो छ सिंहको राजनीतिक यात्रा

कालिकोटको साविकको ओदानकु गाविस–८ डिल्लीकोटमा जन्मिएका सिंहको२०२९ सालमा कम्युनिष्ट पार्टी पुष्पलाल समुहबाट राजनीति यात्रा शुरु भएको हो ।

पुष्पलाल समुहसँग असन्तुष्ट भई नारायणमान बिजूक्छें ‘रोहित’ सँगै नेपाल मजदुर किसान संगठनमा लागे, अध्यक्षमा ‘रोहित’ र उपाध्यक्ष सिंहले जिम्मेदवारी लिए । पछि त्यही मजदुर किसान संगठन नेपाल मजदुर किसान पार्टी
(नेमकिपा)मा परिणत भयो । सिंह २०४७ सालसम्म नेमकिपामै रहे ।

२०४६ सालपछि तत्कालिन मालेका महासचिव मदनकुमार भण्डारीको देखिएको लहरसँगै सिंह मालेमा प्रवेश गरे । नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी) र मालेको एकीकरणपछि भएको ५ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

एमालेबाट २०४८ साल असार १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । भाग्यमानी सिंह गोला प्रथाबाट ६ बर्षको लागि सांसद चुनिए । एमालेबाट राष्ट्रिय सभाको सचेतक भए । २०५६ सालको आम निर्वाचनमा कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । एमालेबाट उम्मेदवार बनेका सिंहले कांग्रेस नेता नेत्रबहादुर शाहीलाई पराजित गरेका थिए ।

मुलुकमा असहज अवस्था भएको बेलामा सिंहले एमाले छोडे र नयाँ पार्टी खोले । उनले समाजवादी लोकतान्त्रिक जनता पार्टी स्थापना गरी अध्यक्ष भए । त्यही पार्टीको नाम फेरेर समाजवादी जनता पार्टी राखियो । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा समाजवादी जनता पार्टीले समानुपातिकबाट एक सिट प्राप्त ग¥यो । त्यो बेला सिंह आफै संविधान सभा सदस्य बने ।

२०७० सालको दोस्रो संविधान सभामा समाजवादी पार्टीले समानुपातिकबाट एक सिट प्राप्त ग¥यो । त्यसबेला पनि सिंह संविधान सभा सदस्य बन्न सफल भए ।

६ पटक मन्त्री

लोकेन्द्रबहादुर चन्द नेतृत्वमा एमाले–राप्रपाको संयुक्त सरकार २०५३ साल चैत्र १२ गते पहिलो पटक सिंह कानुन तथा न्यायमन्त्री भएका थिए । राष्ट्रिय सभाको पदावधी सकिएपछि राजीनामा दिएका सिंह पुनः २०५४ साल असार १५ गते कानुन तथा न्यायमन्त्रीमा नै मनोनित भए ।

पहिलो संविधान सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहालको सरकार ढलेपछि बनेको एमाले नेता माधवकुमार नेपालको नेतृत्वको सरकारमा मन्त्री हँुदै ह्याट्रिक गरे । २०६६ साल असार १९ गते तेस्रो पटक सिंह कानुन तथा न्यायमन्त्रीकै कुर्सीमा पुगे ।

दोस्रो संविधान सभामा पुनः संविधान सभा सदस्य भएका सिंह २०७२ साल पुस ९ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा खानेपानी तथा सरसफाईमन्त्रीमा नियुक्त भए । उनी २ पटक खानेपानी तथा सरसफाइमन्त्री बनेका छन् ।

ओलीको सरकार ढालेपछि बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा पनि उनी ६ माघ २०७३ मा पाँचौ पटक मन्त्री बने । उनलाई त्यो बेला खानेपानी तथा सरसफाईमन्त्रीकै जिम्मेवारी दिइयो ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको जम्बो मन्त्रिपरिषदमा २०७३ फागुन २६ गते विज्ञान तथा प्रविधि मन्त्रालयमा नियुक्त भएका सिंह अहिलेसम्म ६ पटक मन्त्री बनिसकेका छन् । अहिले पनि उनी मन्त्रीकै जिम्मेवारीमा छन् ।

उनले संविधानसभाको विभिन्न समितिमा रहेर काम गरे । संविधान मस्यौदा गर्ने अन्तिम कार्यदलको सदस्य भएर संविधान सभा निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । ‘देश र जनताको नाममा काम गरेकै कारण पटक पटक मन्त्री भएको हुँ’, उनले भनेका छन्, ‘त्यहीकारण मलाई सांसद र मन्त्री बन्ने अवसर मिलिरहेको छ ।’

तीन श्रीमतीका पति

नेपालको संविधानले बहुविवाहलाई कानुनी अपराध भनेको छ । तर, ६ पटक मन्त्री बनेका प्रेमबहादुर सिं‌हका श्रीमती नै तीनजना छन् । चार पटक सांसद भएर छ पटक मन्त्री भएका यिनी लोकेन्द्रबहादुर चन्ददेखि शेरबहादुर देउवा र पुष्पकमल दाहालको सरकारमा समेत मन्त्री बनिसकेका छन् ।

रोचक कुरा त के छ भने बहुविवाह गरेका उनले पटक पटक कानुन मन्त्रालय नै सम्हाले । कानुनी परिभाषा हेर्ने हो भने यिनले तीनवटी श्रीमती ल्याउनु अपराध नै हो । सिंहले वैधानिकरुपमै दुईवटी श्रीमती ल्याएका छन् । जेठी ज्ञानु सिंहलाई भित्र्याएको केही वर्षमै उनले कान्छीका रुपमा पद्मा सिंहलाई प्रेमजालमा पारेर २०४० सालमा भित्र्याए। अहिले उनी पार्टीकै एकजना नेतृसँग मैतीदेवीमा बस्दै आएका छन् ।

पञ्चायतमै राजनीति थालेर काठमाडौं छिरेका कालिकोटका सिंहका जेठी र कान्छी श्रीमती थानकोटमा बस्छन् । ६ पटक मन्त्री बनेका सिंहलाई पहाडका विजयकुमार गच्छदार पनि भन्ने गरिएको छ ।-अन्नपूर्ण पोष्टबाट

शनि, पुस ८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया