आजदेखि दुई नम्बर प्रदेशमा खटिए आयोगका कर्मचारी


काठमाडौ २९ भदौ ।
निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र बनाएको छ । आयोगले निर्वाचन हुने सबै मतदान केन्द्रमा आजबाट कर्मचारी पनि खटाएको छ ।

सबै प्राविधिक तयारी पूरा गरेको जनाएको आयोगले आज तेस्रो चरणमा निर्वाचन हुन लागेका आठ जिल्लाका १ सय ३६ स्थानीय तहका मतदान केन्द्रमा आवश्यक सामग्री सहित कर्मचारी खटाएको हो ।

कर्मचारीसहित निर्वाचन सामग्री पनि मतदान केन्द्र पुग्ने भएपछि आजबाट सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । तेस्रो चरणको निर्वाचनका लागि आयोगले ३ हजार ५ सय ७० मतदान केन्द्रको व्यवस्था गरेको छ ।

यसैबीच निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ भाग लिन निवेदन दिएका दललाई निवेदन फिर्ताका लागि आज समय छुट्याएको छ ।

आवेदन दिएका राजनितिक दललाई फिर्ताका लागि बिहान १० बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरेको आयोगका प्रवक्ता ढकालले बताउनु भयो । समानुपातिक सहभागिताका लागि आयोगमा ८८ वटा दलले निवेदन दिएका छन् ।

बिहि, भदौ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया