निर्वाचन आचारसंहिताको चरम उलंघन , मुख्य तीन दल र मधेशकेन्द्रित दलहरुको होड

काठमाडौं ,२८ भदौ । निर्वाचन आयोगले २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचन प्रचारका क्रममा दल तथा उम्मेदवारले आचारसंहिताको चरम उलंघन गरेको जनाएको छ ।

असोज २ गते हुने निर्वाचनमा सर्लाही, रौतहट, बारा र पर्सामा बढी आचारसंहिताको उलंघन भएको छ ।

आचारसंहिता अनुगमनका लागि २ सचिव र १४ सहसचिव ८ जिल्लामा खटाए पनि निर्वाचन प्रचार शैली नियन्त्रणभन्दा बाहिर गएको आयोगको भनाई छ ।

उम्मेदवारले निर्वाचनका लागि विद्यालयको बस प्रयोग गर्ने, दर्जन बढी चार पाङग्रे सवारी प्रयोग गर्ने, चर्को आवाजमा डिजे साउण्डको प्रयोग गर्ने तथा खुलेआम रुपमा भोज भतेर गर्ने जस्ता कार्य गरिरहेका छन् ।

आचारसंहिताको पालना नगर्नेमा मुख्य तीन दल र मधेशकेन्द्रित दलहरुको होड नै चलेको छ । भड्किलो प्रचार शैलीबाट मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारले आचारसंहिताको उलंघन गर्ने गरेको मधेशका अगुवाहरुको भनाई छ ।

आचारसंहिता उलंघनका घटना दिनँहु आईरहे पनि निर्वाचन आयोगले भने कुनै कारबाही अघि बढाउन सकेको छैन ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया