सप्तरीमा निर्वाचन सुरक्षाका लागी जर्मन शेफर्ड कुकुर परिचालन


सप्तरी, भदौ २८ ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

सम्बन्धित मतदान केन्द्रमासमेत प्रहरी टोली पठाइसकेको उहाँको भनाई छ । त्यस्तै, लागूऔषध र विष्फोटक पदार्थको खोजी गर्ने विशेष तालिम प्राप्त जर्मन शेफर्ड कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सप्तरी जिल्लामा करिब चार हजार नेपाल प्रहरी र दुई हजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन्। जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेका बताइएको छ ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया