यु १९ एसिया कप छनौट क्रिकेटको दोस्रो खेलमा पनि नेपालको शानदार जित

काठमाडौं, भदौ २८ ।
मलेसियामा जारी एसिसी यू १९ एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गतको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा पनि शानदार जित हासिल गरेको छ । आज विहान मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।

भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा एक विकेट क्षतिमै भेट्टाएको हो । नेपालका सन्दिप सुनारले २६ बलमा २१ रन, आशिफ शेखले २१ बलमा अविजित २३ रन साथै अनिल कुमार शाह ५ बलमा ४ रन अविजित रहे । खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् । नन्दनले तेस्रो ओभरमा भुटानका ओपनर जीवन घल्लेलाई एक रनमा आउट गरेका हुन् । दिपेन्द्रले ९ औँ ओभरमा दुई र १९ औँ ओभरमा दुई साथै २१ औँ ओभरमा एक विकेट लिएका हुन् ।

सन्दिप लामिछानेले २४ औँ ओभरमा एक र २६ औँ ओभरमा दुई साथै २८ औ ओभरमा एक गरेर चार विकेट लिएका छन् । भुटानका युग्येन दोर्जीले ४३ बलमा १३ रन साथै टासी फुन्टशोले ६५ बलमा १६ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह ‘ए’ मा रहेको नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो । पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगितामा नेपाललाई बलियो टिमको रुपमा हेरिएको छ ।

१९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिता आगामी नोभेम्बरमा भारतमा हुँदैछ । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश तथा छनौट चरणबाट आएका चार टिम एसिया कप क्रिकेटमा खेल्ने छन् । पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रको फाइनलमा पुग्ने दुई दुई टिम एसिया कपका लागि छनौट हुने छन् ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया