उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव राष्ट्रसंघबाट पारित

एजेन्सी २७ भदौ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ । गत साता उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेपछि अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव राष्ट्रसंघमा पेश गरेको थियो ।

अमेरिकाको पहलमा तयार भएको नयाँ प्रतिबन्ध सम्बन्धी प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलपछि पारित भएको हो । सुरुमा प्रस्तावमा चीन र रुसले असहमति नजनाएपनि प्रस्तावका बुँदामा केही परिमार्जन गरेपछि यी दुई राष्ट्रले पनि समर्थन जनाएका हुन् ।

उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पार्ने सम्बन्धी प्रस्ताव राष्ट्रसंघ सुरक्षा परिषदबाट सतप्रतिशत मतका साथ पारित भएको हो । नयाँ प्रतिबन्ध अनुसार अब उत्तर कोरियाबाट कोइला, लिड तथा सि फुड निर्यात बन्द गरिनेछ ।

गत साता पेश गरिएको प्रतिबन्ध प्रस्तावमा केही कडा प्रावधान भने हटाइएका छन् । सुरुमा उत्तर कोरियामा तेल पठाउन बन्द गर्ने तथा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने प्रस्ताव गरिएकोमा चीन र रुसको आपत्तिपछि उक्त बुँदालाई हटाइएको छ ।

उत्तर कोरियाले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गरेपछि कोरियाली प्राद्विपमा तनाव बढेको छ । उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट सुरक्षा खतरा बढेको भन्दै अमेरिकाले उत्तरमाथि प्रतिबन्ध कडा बनाउनु पर्ने बताउँदै अएको थियो ।

परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाले यसअघि पनि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध खेप्दै आएको छ ।

 

मङ्ल, भदौ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया