मेरो आफ्नै कथा : युद्ध र जेलजीवनको कहालीलाग्दो त्यो घटना

भनिन्छ, बूढो बाउको काँधमा जवान छोराको लाश असाध्यै पीडादायी हुन्छ । तर, बाउहरुले आफ्ना छोराहरुको लाशसम्म पनि देख्नै पाएनन् । मानिसका जीवनमा अनेकौं आरोह–अवरोह र सुख–दुःखका पलहरु आउँछन् । हरेक मानिसलाई आफैंले पाएको पीडा र चोट ठूलो लाग्छ । तर, पीडाको कुनै साइज हुँदैन्, पीडा पीडा नै हो ।

तर कोही पीडासँग जुध्न नसकेर भाग्छन् त कोही पीडासँगै लड्दै, नुनीनो आँशुलाई पुछ्दै संघर्षमा जुट्छन् । नेपालमा भएको जनयुद्धका क्रममा कयौं यस्ता घटना छन्, जसले हामीले सोच्न विवश बनाइदिन्छ । कयौं यस्ता पात्र छन्, जसले पीडा र दुःखका पहाड उचालेका छन् ।

यस्तै एक पात्र हुन् तत्कालीन नेकपा (माओवादी) को विद्यार्थी संगठनमा २०५५ मा आबद्ध भएका झापाका वीरेन्द्र बस्नेत । वीरेन्द्र बस्नेत यतिबेला विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचिव छन् । उनले ४३ महिना जेलमा ज्यादै कष्टपूर्ण दिनहरु बिताए । एक भाइ र दाजुलाई सेनाले हिरासतमै मारिदिए । यस्तो छ उनको युद्ध र जेलजीवनको कहालीलाग्दो वर्णन । उनी भन्छन्–

म २०५५ सालमा झापाको हिमालयन माविमा कक्षा ९ मा पढ्थें । मलाई माओवादी भनेको खासै थहा थिएन । तर, माओवादीले राजालाई हटाउन बन्दुक बोक्यो भन्ने चाहिँ सुनेको थिएँ । म पनि माओवादीको विद्यार्थी संगठनमा आबद्ध भएँ तर गोप्य रुपमा ।

२०५७ सालमा म काठमाडौं आएँ उच्च शिक्षा अध्ययनका लागि । मलगायत साथीहरु काठमाडौंका भित्ताहरुमा वालपेन्टिङ गर्दै थियौं । शाही शासनविरुद्ध अर्थात् तत्कालीन व्यवस्थाविरुद्ध । त्यतिबेला विद्यार्थीलाई खासै केही गरिँदैनथ्यो तर कडा निगरानी चाहिँ राखिन्थ्यो । पोस्टर टाँस्दै जाँदा २०५७ मंसिर १८ मा मलाई घट्टेकुलोबाट प्रहरीले गिरफ्तार गर्‍यो ।

त्यसपछि हुनमानढोकामा ७ दिन राखियो । एक हप्तापछि तारेखमा रिहा गरियो । ७ दिन राख्दा मलाई निकै यतना दिइयो, शरीरभरि डामैडाम । त्यतिञ्जेलसम्म मलाई राजनीतिबारे खासै चासो थिएन । त्यो घटनाले मेरो सोचाइ र जीवन बदलिदियो । त्यसपछि मैले पूर्णकालीन कार्यकर्ता बन्ने निधो गरें ।

मेरो पहिलो भेट साधुराम देवकोटासँग भयो । म उहाँलाई दाइ भन्थें । उनैले मलाई पूर्णकालीन सदस्य बनाए । पछि सेनाले उहाँको हत्या गर्‍यो । त्यसपछि सरकार र माओवादीबीच वार्ता भयो । हामी काठमाडौंमै थियौं । २०५८ पुस ११ मा युद्धविराम भङ्ग भयो ।

पुस १४ गते मेरो जन्मदिन थियो । जन्मदिन मनाउन भनेर दिदीले मलाई बोलाउनुभयो । म राति लुकेर गएँ । त्यही दिन प्रहरीले छापा हानेर भाइ धीरेन्द्र र मलाई मैतीदेवीबाट पक्राउ गर्‍यो । आफ्नै जन्मदिनमा पक्राउ हुँदा मन निकै दुख्यो । लाग्यो, म कस्तो अभागी रहेछु । तर, भाइलाई चाहिँ नलगिदिए हुन्थ्यो भन्ने मनमा थियो । भाइ र मलाई कमलपोखरी लगियो । २ दिन राख्यो कमलपोखरीमा । त्यसपछि हुनुमानढोका लगेर १ महिना राख्यो । त्यसपछि भद्र बन्दीगृहमा चलान गरियो ।

भद्र बन्दीगृहमा म र भाइ सबैभन्दा कान्छा बन्दी भयौं । त्यहाँ कान्छो बन्दीलाई सबैले भाञ्जा भन्दा रहेछन् । मलाई सबैले भाञ्जा–भाञ्जा भनेर बोलाउँथे । जेल पुगेपछि मजस्तै अन्य माओवादी भेटिए । हामीलाई प्रहरीका अफिसरले बेला–बेला ‘साले माओवादीका छाउरा’ भन्थे ।

त्यतिबेला आतंककारी तथा विध्वशांत्मक सजाय अध्यादेश अनुसार ३ महिनाभन्दा बढी जेलमा राख्न पाइँदैनथ्यो । तर, हामीलाई तीन महिनामा छुट पुर्जी दिइन्थ्यो र गेटबाट समातेर फेरि जेल चलान गरिन्थ्यो । फेरि हुनमानढोका लगियो मलाई । त्यतिबेला मेरा आफ्नै दाइ पुष्प बस्नेतलाई पनि समातिसकेको थियो प्रहरीले । दाइलाई केन्द्रीय कारागारमा राखिएको थियो ।

२०५९ मा सरकार र माओवादीबीच दोस्रो वार्ता भयो । दोस्रो वार्ताको वातावरण बनाउने क्रममा सबै बन्दीलाई छाड्ने सहमति भयो । र, हामी तीनै भाइ चैत ११ गते एकै दिन छुट्यौं । त्यसपछि फेरि वार्ता भङ्ग भयो । छुटेपछि दाइ पुनः संगठनमा सक्रिय हुनुभयो ।

भदौ ११ गते सादा पोशाकका सुरक्षाकर्मीले मलाई फेरि कपनबाट पक्राउ गरे । त्यसपछि मलाई प्रहरी तालिम केन्द्र महाराजगञ्ज लगियो । त्यो मेरो तेस्रो गिरफ्तारी थियो । त्यतिबेला मलाई निकै भयानक यातना दिइयो । संयोगले त्यही दिन बानेश्वरमा सेनाका जर्नेल किरण बस्नेतको गोली हानी हत्या गरिएको थियो ।

मलाई प्रहरीले पिट्दै भन्थे– ‘साला भन् किरण बस्नेतलाई तैंले नै होइनस् गोली हानेको ?’ मलाई ७ दिन राखियो । मेरा हात–खुट्टा बाँधेर टाउको तल पारी पिटिन्थ्यो । बेला–बेला करेन्टको झड्का दिन्थे ।

एक हप्तापछि मलाई अन्यत्रै लगियो, आँखामा कालो पट्टी र उल्टो हात बाँधेर । मलाई कहाँ लगियो ? थाहै भएन । पानी परेजस्तो थियो । मलाई एकाएक चिसो सिमेन्टमा लडाइयो । त्यहाँ को छ, केही थाहा थिएन । ३ दिनपछि एक जना छटपटाएको आभाष भयो मलाई । पछि थाहा भयो– ती व्यक्ति कृष्ण केसी रहेछन् । उनलाई मरणासन्न हुनेगरी यातना दिइएको रहेछ ।

मलाई बाँचेर फेरि यो रंगीन दुनियाँमा फर्कंने कल्पनासम्म थिएन । हात उल्टो फर्काएर बाँधिएको हुन्थ्यो, आँखादेखि घाँटीसम्म छोप्ने कालो पट्टी । खाना खाने बेला मात्र हात खोलिन्थ्यो । तर, खाना अलिकति हुन्थ्यो, त्यही ५–६ गाँस मात्र । दालको पानी दिन्थे । भोकले सताउँथ्यो । उनीहरुले खाना पस्कने बेला वा दिने बेला भुइँमा खसेको सिता पनि टिपेर खाइन्थो । खानाचाहिँ १२ घन्टाको फरकमा दिन्थ्यो ।

दिशा–पिसाप लागे पनि उनीहरुले ट्वाइलेट लगिदिँदैनथे । जति बेला उनीहरुलार्इ मन लाग्यो, लग्थे । धेरै पटक र कपडामै दिशापिसाब भयो । त्यही दिशा गरेको कपडामै सुतिन्थ्यो । तर, सुत्न दिँदैनथे । सुत्छन् र आराम हुन्छ भनेर एक घन्टा उभ्याइन्यो र एक घन्टा बस्न लगाइन्थ्यो । यस्तो क्रम धेरै महिना चल्यो ।

एक दिनको कुरा, एक्कासि चिच्याएको आवाज सुनें । यो चिच्याहट धेरैबेर आइरह्यो । लाग्यो, कोही नयाँ मान्छे ल्याए राक्षसहरुले । त्यतिबेलै एक जना जवान आएर सोधे– ए पुष्प बस्नेतलाई चिन्छस् ? मैले भनें– हो, मेरो दाइ हो । त्यो चिच्याउने व्याक्ति पनि पुष्प दाइ नै रहेछन् । केही समयपछि एक जना अफिसर भित्र आयो । हिरासतमा हामीलाई नाम होइन नम्बरबाट बोलाइन्थ्यो । मेरो नम्बर २२ थियो । र, मलाई कोठाबाट बाहिर निकालियो ।

मलाई याताना दिने कक्षमा लगियो । आँखाको पट्टी खोलेर हेरें । मेरो दाइलाई कुटीकुटी भुइँमा लडाइएको रहेछ । मलाई अफिसरले सोध्यो– चिन्छस् ? मैले चिन्छु भन्ने प्रतिक्रिया दिएँ । त्यसपछि मलाई पानी भएको ड्रममा टाउको चोप्न थालियो । गोप्य कुरा खोल् भनेर । खासमा मलाई यातना दिएर उनीहरु दाइबाट माओवादीको बारेमा जान्न चाहन्थे । तर दाइले बताउनुभएन, बरु मारिदे भन्नुभयो । दाइले त्यति बेला भनेका धेरै याद आउँछ– एक गोली खर्च गरेर मारिदे मलाई ।

केही दिनपछि एक पटक शौचालयमा दाइसँग भेट भयो । कहिलेकाहीं एकै पटक धेरैलाई लैजान्थे । उहाँका हातका सबै अौंलाहरु आल्पिन रोपेर सुन्निएका थिए, पीप बगिरहेको थियो । अंकमाल गरेयौ यो नै अन्तिम अंकमाल थियो उहाँसँगको । सर्ट ढाडमै टाँसिएको थियो, डाढमा पूरै पीप बगिरहेको थियो । यो दृश्य मेरो मानसपटलमा सधैं घुमिरहन्छ ।

जब यो दृश्य सम्झिन्छु अनिअहिलेको पार्टी संगठन, अहिलेका नेताहरु… … उफ्… … खै के भनौं ! मसँग कुनै शब्द नै छैनन् । मसँगै राखिएका थुप्रै साथीहरु, उनीहरुको खोजी किन हुन सकेको छैन ? म जवाफको खोजीमा छु ।

केही दिन मात्रै बितेको थियो । म खाना खाँदै थिएँ, एक जना आर्मीको जवान आएर भने– ‘ए आज छfक छोड्दैनस् ?’ किन भनेर मैले सोधें । उसले भन्यो– ‘आज तेरो दाइ र भाइलार्इ त सिध्याइदियौं नि ! अब तेरो पालो ।’

मलाई विश्वासै लागेन किनकि उनीहरुले बेला–बेला मानसिक टर्चर दिन त्यसो गरिरहन्थे । तर त्यसपछि उहाँ कहिल्यै फर्किनुभएन । त्यो सिपाहीको भनाइमा अहिले विश्वास लगिरहेछ । मेरा दाइ र भाइ अब फर्कने आशा पनि छैन । शायद उहाँहरु सधैंका लागि हराउनुभयो । तर, हामीले उहाँलाई बेपत्ता भन्छौं ।

जेलभित्र १७ महिना बित्यो । १७ महिनापछि २०६२ माघ ५ मा कृष्ण केसी, हिमाल शर्मा, विना मगर, मलगायतलाई शिवपुरी लगियो । म बिरामी थिएँ । एक हप्ता बिरामी भएपछि मलाई आर्मीको छाउनी अस्पताल लगियो । त्यहाँबाट हाम्रो बारेमा मानवअधिकारवादीलाई थाहा भएको रहेछ । उनीहरुले मलाई भेटे । हाम्रो बारेमा बाहिर पनि चर्चा भयो ।

त्यसपछि मलाई फेरि ब्यारेक लगियो । मलाई माया गर्ने एक जना जवान थिए, उनले मसँग भने– ‘तपाईंहरु भाग्यमानी हुनुहुँदो रहेछ किनभने आजसम्म शिवपुरी लगिएका कोही पनि फर्किएका छैनन् ।

२१ दिनपछि मसहित भाइकाजी घिमिरे, लक्ष्मण खनाललगायतलाई ट्रकमा हालेर भैरवनाथ गणमा लगियो । आँखाको पट्टी खोलियो । हामी तीनैलाई अलग–अलग राखियो । मेजर विवेक विष्ट आए । उनले भने–‘बाँचिस्, भाग्यमानी रैछस् ।’

त्यसपछि हत्कडी खोलियो । मलाई लाग्यो, अब हात बाँधिँदैनन् होला । तर, एक्कासि चाइनिज हतकडी लगाइयो । आँखामा पट्टी बाँधियो र अन्तै लगियो । त्यो लगनखेल रहेछ । त्यहाँ २ महिना राखियो । त्यहाँ एक जना जवान थिए, ती निकै सहयोगी रहेछन् । बेला–बेला मेरो आँखाको पट्टी खोलिदिन्थे । सानो प्वाल थियो, त्यही प्वालबाट म बाहिर चियाउँथें ।

त्यसपछि मलाई अन्तै लगियो, नख्खु सुधारगृहमा । हरेक मानिस जेल पर्दा दुःखी हुन्छन्, म भने खुशी भएँ किनभने जेलमा पुगेपछि मैले यातनाको नर्कबाट मुक्ति पाउँछु भन्ने लाग्यो । तर, जब हतकडी खोलियो र म भुइँमा उभिन खोजें, लडें नराम्रोसँग । मेरा खुट्टाहरु टेकिनै छाडे, पूरै प्यारालाइसिस भएजस्तो ।

अँध्यारा कोठाको बसाइ र निरन्तरको यातनाले मेरो शरीर नै अजङको भइसकेको रहेछ । जसोतसो भुइँमा लडें । जेलमा केही दिनको बसाइ थियो । कैदी–बन्दीलाई त्यतिबेला घरमा टेलिफोन गर्न दिइँदैनथ्यो । हामीले टेलिफोन गर्न दिनुपर्ने माग राख्यौं । सुनवाई भएन । त्यसपछि हामीले अनसन बस्ने निर्णय गर्‍यौं ।

म अनसनमा बसें, केही अरु साथीले पनि सघाए । अनसनमा म निकै बिरामी भइसकेको थिएँ । डाक्टरले मेरो स्वास्थ्य अवस्था खतरापूर्ण रहेको बताएपछि जेलबाट फोन गर्न दिने सहमति भयो । यो नेपालभरिका कैदीका लागि खुसीको दिन थियो ।

केही दिनपछि माओवादी नेता मातृका यादवलाई पनि त्यहीं ल्याइयो । तर, मलाई त्यही दिन डिल्लीबजार लगियो । त्यतिबेला मैले सजाय भोगिसकेकाले ६ महिनाभन्दा बढी जेल राख्न पाइँदैनथ्यो ।

मलाई भने नछाडिएपछि मैले बन्दीप्रत्यक्षीकरणमा सर्वोच्च अदालतमा रिट दायर गर्न लगाएँ । सर्वोच्चले मेरो पक्षमा फैसला गर्‍यो । २०६२ पुस ३ गते म हिरासतमुक्त भएँ ।

अदालतबाट छुटेको कुरा नेपाल प्रहरीका इन्स्पेक्टरले सेनालाई खबर गरेनन् । नत्र सेनाले फेरि समातेर लैजान्थ्यो । म ७ दिन काठमाडौंमै लुकेर बसें । त्यसपछि लेखनाथ न्यौपानेको सम्पर्कमा हेटौंडा गएँ । त्यसपछि पार्टी काममा सक्रिय रहें ।

पीडाका ती दिनहरु म सम्झन चाहन्नँ । सपनामा दाजुभाइ आउनुहुन्छ । त्यो बेला लाग्छ, यो सपना त हो, ब्युँझिनु नपरे पनि हुन्थो । फेरि कल्पना गर्छु, म त्यही सपना देख्न चाहन्छु । बेलाबेला झस्कन्छु । अन्तिम पटक देख्न पनि पाइनँ ।

विगतका घाउहरु अझै छन् । शरीरको दुखाइ ठुलो कुरा होइन । तर, मन न हो । बेलाबेला अतीतमा फर्किंदा अनौठो लाग्छ । मजस्ता कयौंका आफन्त गुमेका छन । तर, हाम्रा सपना पूरा भएका छैनन् । पार्टी विभाजन हुँदा मुटु छियाछिया भएको छ । सहिद, बेपत्ता र घाइते–अपाङ्गका सपना अलपत्र देखिन्छन् ।

जुट्ने बेला फेरि आएको छ । अब पनि नजुटे हाम्रो अस्तित्व नै रहन्न । जेलमा आमाबुबाको यादले धेरै पिरोल्थ्यो । बुबा पनि पार्टीमै हुनुहुन्छ । एक पटक देख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, माओवादीहरुले आफ्नो विरासत कति छिट्टै बिर्सन खोजे जस्तो हुन्छ । यो नाफाको जिन्दगी, जेलनेलबाट बचेखुचेको । कुनै स्वार्थ छैन जीवनमा । बस्–  देश बनोस्, जनता बनून् !

लेखक : केशवराज जोशी

बुध, साउन २५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया