फलफुलमा आत्मनिर्भर कसरी बन्ने ?


–अशिम सापकोटा
तरकारी तथा फलफुल खपत गर्नेको सङख्या दिन–प्रतिदिन वृद्धि हुँदै गएको छ । त्यसको अनुपातमा फलफुल खेती विस्तार हुन नसकेको यथार्थ नै मान्नुपर्छ किनकी आयातको दर पनि बढ्नै क्रममै रहेको छ । त्यसैले भारत लगायतका विभिन्न देशबाट तरकारी तथा फलफुल आयात गर्नुपर्ने बाध्यता छ । नेपाली समाजमा खेती किसानी गर्ने मानिसभन्दा जागीरेलाई सम्पन्न परिवार अहिले पनि मानिँदै आएको छ । यसले पनि केही समस्या थपेको हुन सक्छ । अहिले धेरैजसो ग्रामीण भेगमा बसोवास गर्ने मानिस ऋण खोजेरै भए पनि विदेशिने प्रचलन बढ्दै गएको छ । यसलाई रोक्न सरोकारवाला सबैले पहल गरेमा धेरै मात्रामा तरकारी तथा फलफुल आयात गर्नुपर्ने अवस्था आउँदैन । गाउँका उर्वर भूमि बाँझो हुँदै गएका छन् । त्यसै गरी विदेशबाट आउने रेमिट्यान्स समेत कृषिमा लगानी भएको छैन ।
हरेक बर्ष फलफूल उत्पादनका लागि नेपालमा नै विभिन्न मिसन कार्यक्रम आउने गरेका छन् । अनार, अंगुर, सुन्तला, स्याउ, नास्पाती, केरा, भुँई–कटहर, खरबुजा, आँप लगायतका फलफूल उत्पादनका लागि नेपाल महत्वपूर्ण देशका रुपमा मानिँदै आएको छ । मुस्ताङका स्याउको बजारीकरण गर्न नसकेका कारण स्याउ कुहिन थालेका समाचार हाम्रा लागि निकै चर्चाका विषय हुन सक्छन् । सुन्तला होस् वा केरा, नास्पाती होस् या अनार, सबै फलफुलका लागि नेपालका धेरै ठाउँहरु उत्पादन योग्य छन् तैपनि कतिपय ठाउँमा विगतमा उत्पादन गर्ने गरेका भएपनि यतिखेर उत्पादनमा कमी आउन थालेको पाइन्छ । हुनत यो समयमा कतिपय ठाँउका युवाहरु यस्ता ठाउँमा नाङ्गा डाँडाहरुलाई फलफूल खेती गर्न तम्सिएकाहरु पनि प्रशस्त नै छन् । तर प्रतिफल आएजस्तो देखीएको छैन् ।
हुनत सरकारले प्रत्येक बर्ष कृषिको व्यवसायीकरणलाई टेवा दिन भनेर बजेट पनि बढाएकै छ । तर पनि नेपाल फलफूलमा अझै पनि भारत वा चीनकै आशामा बस्नुपरेको छ । जब– जब चाडबाडहरु आउने गर्दछन् तव फलफूलको माग बढ्दै जान्छ । नेपाललाई कृषि प्रधान देश भन्ने गरिएको भएपनि पछिल्लो समयमा कृषि प्रधान देश भन्नु भन्दा पनि कृषक प्रधान देश भन्नु पर्ने अवस्थाका आइसकेको छ ।
खाद्य सामग्रीहरुको उत्पादनमा कमी आएको मात्र होइन कृषि तर्फ धेरै युवा जनशक्तिहरुको आकर्षण घटेका कारण पनि यो अवस्था आएको हो । नेपाल सरकारले युवा लक्षित गरी कृषि कार्यक्रमहरु सञ्चालन गरेको भएपनि त्यो नेपाली बेरोजगार युवाहरुको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ कि भन्ने भान भएको छ । कृषि विकास मन्त्रालय मातहत कतिपय कृषि आयोजनाहरुले समेत फलफूलका लागि सहयोग गरेपनि आवश्यकता अनुरुप उत्पादन हुन नसक्दा अझै पनि छिमेकी राष्ट्रसँग परनिर्भरतामा रमाउनु परेको तितो यथार्थ पनि हामीसँग सधैँ ताजा नै छ ।
नेपाली जनताहरुको खाने आनीबानीमा परिवर्तन आउनु र मांसाहारी विस्तारै शाहाकारी तर्फ परिवर्तन हुने कारण पनि फलफूलको माग बढ्नुको एउटा कारण भएको काठमाडौंका विभिन्न ठाँउमा फ्रुट्स पसल सञ्चालन गरिरहेका व्यवसायीहरुको अनुभव छ । तर यी व्यवसायीको अनुभवले सहि नै हो कि जस्तो महशुस हुन्छ । त्यत्तिमात्र नभई आयस्रोतमा भएको वृद्धिसँग शहरमा बस्ने नेपालीहरु मात्र होइन ग्राामिण भेगका उपभोक्ताहरु पनि फलफूलप्रति नै आकर्षित भएको महसुस हुन्छ । अन्य समय भन्दा चाडवाडमा तेब्वर फलफूल आफूले विक्री गर्ने गरेको र अधिकांश भारतबाट आयातित हुने गरेको समेत फलफुल व्यवसायीहरुको भनाई छ ।
फलफूलको परनिर्भरता हटाउनका लागि सरकारले जिल्ला–जिल्लामा फलफूल उत्पादनका लागि मिसन कार्यक्रम सञ्चालन गरी प्रभावकारी ढंगले अगाडि बढ्ने हो भने केही मात्रामा भएपनि आन्तरिक उत्पादन वृद्धि गरी रोजगारी सृजना गर्न सहज हुने व्यवसायीहरुले नै बताएका छन् ।
कोल्ड स्टोरेजको व्यवस्था गर्न सके आयातदर अलि कम गर्न सकिन्छ
नेपालमा उत्पादित तरकारी तथा फलफुललाई लामो समयसम्म व्यवस्थापन गर्न सरकारले कोल्ड स्टोरेजको स्थापना गर्नु आवश्यक छ । अहिले पनि नेपाललाई आवश्यक पर्ने तरकारी स्वदेशमा उत्पादन हुँदै आएको छ । तर, उचित व्यवस्थापनका अभावले सबै तरकारी तथा अन्य वस्तु कुहिएर खेर जाने गरेकाले आयातमा वृद्धि भएको हो । सरकारी कदम सकारात्मक भई कोल्ड स्टोरेजमा किसानलाई अनुदान दिन सकेको अवस्थामा आलु त निर्यात समेत गर्न सकिने बलियो आधार छ तर यसमा सहकार्यको खाँचो छ । हिमाली जिल्लामा आलुको सम्भावना राम्रो छ । ती जिल्लामा व्यवसायिक आलु खेतीका लागि सरकारले पहल गरेमा निर्यातको सम्भावना प्रवल हुन्छ ।
त्यस्तै, खेती गर्ने मानिसलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको पाइन्छ । जागीरे र खेती गर्ने मानिसप्रतिको सोचाई फरक पाइएको छ । सरकारले नीति नै बनाएर यस्तो सोचाईमा सुधार गर्न आवश्यक छ । त्यसैगरी सरकारले किसानलाई समयमा हाइब्रिड बीउ, रासायनिक तथा प्राङ्गारिक मल, कृषि बीमा, सहुलियत दरमा ऋण उपलब्ध गराउन सके केही वर्षमा नेपाल फलफुलमा आत्मनिर्भर हुन सक्छ ।
नेपालका मुख्य शहरमा भएको घर तथा जग्गालाई मात्र बैँङकले धितोसहित ऋण उपलब्ध गराउने गरेका छन् । तर, वास्तविक किसान भने गाउँ–गाउँमा छन् । त्यसैले अहिलेसम्म वास्तविक किसानले ऋण पाउन कठीन छ । अहिले नेपालमा बीउबिजन उत्पादन गर्ने धेरै संस्था स्थापना भएका छन् । तर, ती संस्थाले आफुलाई अनुकूल पर्ने बेलामा मात्र बीउ उत्पादन गर्दै आएकाले समस्या थपिएको हो । नेपालका विभिन्न जिल्लामा विभिन्न फलफुल खेतीको सम्भावना भएकाले ती क्षेत्रमा पनि फलफुल खेतीलाई प्रोत्साहित गर्नु आवश्यक छ । यसरी सम्भावना बोकेका क्षेत्रमा सबैको ध्यान जानु आवश्यक छ ।

मङ्ल, साउन १७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया