हिलारीको भूमिमा पहिलोपटक नेपाली लोक–रक भाका घन्कियो 


काठमाडौं, साउन १४।

नेपथ्यले शुक्रबार पहिलोपटक न्यूजिल्याण्डमा आफूलाई प्रस्तुत गरेको छ । अकल्याण्डस्थित ‘स्काइ सिटी थिएटर’ मा नेपाली लोक–रक भाका सुन्न आएका श्रोता दर्शकले कार्यक्रमपछि स्वदेशको स्वाद बोकेर ल्याइदिएकोमा ब्याण्डलाई धन्यवाद दिएका थिए ।

‘नेपाली सांगीतिक टोलीको यो पहिलो यात्रासँगै  एउटा नयाँ इतिहासको निर्माण भएको छ,’ आयोजक समूहका राज महर्जनले भने, ‘नेपथ्यले खोलेको बाटोले अब भावी दिनमा अन्य समूह र कलाकारका निम्ति पनि यो नयाँ गन्तव्य बन्नपुगेको छ ।’

असाध्यै थोरै नेपालीहरुको बसोबास रहेता पनि जे जति दर्शकहरु कन्सर्ट हेर्नका निम्ति भेला भए, त्यसले नेपथ्यले जोड्दै आएको नेपालीहरुबिच एकताको प्रदर्शन पनि गरेको आयोजक महर्जनको भनाइ थियो ।

‘यसपाला हाम्रो स्थापनाको रजत वर्ष मनाउने क्रममा विदेशको पहिलो श्रृंखलावद्ध कार्यक्रम यसरी सफलताका साथ सम्पन्न भएकामा म असाध्यै खुशी छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘यसमा सहयोग पुर्‍याउनु हुने आयोजकलगायत सम्पूर्ण दर्शक र नेपथ्यका शुभचिन्तकहरु प्रति आभार प्रकट गर्दछु ।’

मुलुककै सर्वाधिक जनसंख्या ओगट्ने अकल्याण्ड सहरमा नेपालीहरु भने अन्दाजी पाँच हजारको संख्यामा रहेको अनुमान छ । अर्को शहर क्राइस्टचर्चमा पनि उल्लेख्य संख्यामा नेपालीहरु बसोबास गर्दैआएका छन् । यसरी पर आइपुगेका नेपालीहरुलाई यहाँको न्यूजिल्याण्डको समाजसँग जोड्ने सबैभन्दा बलियो शुत्र भने सर एडमन्ड हिलारी नै हुन् ।

सगरमाथाको पहिलो आरोहण गर्ने र बाँचुञ्जेल खुम्बु क्षेत्रको विकासमा आफूलाई समर्पित गर्ने हिलारीका कारण यहाँ दुबै समाजबिच हार्दिकतापूर्ण सम्बन्ध पाइन्छ । पछिल्लो समय भने नेपाल र क्राइस्ट चर्चले भोगेको ठूलो भुइँचालोको अनुभवले पनि यी दुवैलाई एक लहरमा उभ्याएको छ ।

न्यूजिल्याण्ड पुग्नेबित्तिकै अमृतले फेसबुकमा लेखेका थिए, ‘सन् १९५७ मा करिब महिना दिन पानीजहाजमा चढेर संस्कृतिविद् सत्यमोहन जोशी दाइ, सर एडमण्ड हिलारी र हाम्रो हेड सरको देश न्यूजिल्याण्ड आउनु भाथ्यो रे, सांस्कृतिक अध्ययन भ्रमणमा । झण्डै ६० वर्षपछि हामी पनि अहिले सांगीतिक कार्यक्रम गर्न आइपुगेका छौं’ ।

चार जुलाइबाट शुरु भएको यसपल्टको अष्ट्रेलिया र न्यूजिल्याण्डको यात्रा लगभग महिना दिन लामो भ्रमण र विविधताले भरिएका अनुभवसहित सम्पन्न भएको छ ।
अन्य तीनवटा सहरहरुमा जस्तै अकल्याण्डमा पनि अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसगितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए ।

शनि, साउन १४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया