कन्यामको सुन्दरताले तान्दै देश बिदेशका पर्यटक

-सुजन तिमल्सिना

हरेक वर्ष कन्याममा घुम्न तथा वनभोज खान आउनेको भीड लाग्ने गरेको कन्यामको हुर्हुरे चिया बगानमा अहिले १२ महिना नै चहलपहल शुरु भएको छ । दैनिक १५ देखि ५० वटा समूहले वनभोज कार्यक्रम लिएर आउने हुर्हुरेको वातावरण हरेक दिन ब्यस्त र स्थानीय बासिन्दाको दैनिकी बन्दै गएको छ । वनभोज कार्यक्रमसँगै फुटपाथमा पसल गर्दै आएका, पानी बोक्ने, घोडा ब्यवसायमा लागेका स्थानीय बासिन्दाको व्यापारिक  काराेबार बढेकाे छ ।

बिहान उठेर आ–आफ्नो दैनिकीमा निस्किएका स्थानीय बासिन्दा बेलुकासम्म त्यहिँ रहन्छन् ।
इलामसहित सुनसरी, मोरङ, सिराहा, सप्तरी र झापा अनि भारतको पश्चिम बङ्गालबाट समूह बनाएर वनभोज खान मानिसहरु कन्याममा आउने गरेका छन् । हुर्हुरे चियाबगानको सुन्दरता, इलाम प्रवेशसँगसँगैको हरियाली वातावरण, कन्यामको चिसोपना, रमणीय र मनोरञ्जनका लागि उपयुक्त स्थान तथा लभडाँडाले परिचित स्थानहरु भएका कारण तराईबाट धेरै सामुहिक र पारिवारिक वनभोज कार्यक्रम तय गरेर आउने गरेको स्थानीय काजिमान कागतेले बताए ।

झापाको दमकबाट घुम्न आएका रमेश क्षेत्रिले कन्यामको सुन्दरताले रमाइलो भएको बताए । उनी भन्छन्, ‘नौलो ठाउँ, पाथिभरा मन्दिरको दर्शन गर्न पाइने, रमाइलो, चिसो ठाउँ भएको सुनेर आएको । सुनेजस्तै रमाइलो लागेको छ ।’ रमेशका साथी भुपाल कार्कीले भने, ‘चियाबारीमा लभ डाँडा पनि रहेछ, झन रमाइलो, लभ गर्नेहरुका लागि अझ मजा ।’
कन्यामसँगैको कोल्बुङमा मेची राजमार्गकै छेउमा अवस्थित प्रसिद्ध सानी पाथिभरा धार्मिक स्थल भएकाले कन्याम आउँदा उक्त धार्मिक स्थलमा पनि पुग्न पाइने र मनोकाङ्क्षा पुरा गर्नको निमित्त भगवानसँग बरदान माग्न पाइने भएकाले पनि वनभोजका लागि कन्यामकै गन्तब्य बनाउने गरेको पनि पाइएको छ ।

भारतको दार्जिलिङबाट आएका मनिसा लेप्चा भन्छिन्, ‘ पाथिभरा दर्शनका लागि आएको तर कन्यामको हरियाली सुन्दरताले मन लोम्याएको छ । उनी भन्छिन्–‘ कन्याम घुमेको थिइन । चिया बगान, डाँडाकाँडा, लभ डाँडा, घुमफिर गर्दा दार्जिलिङ भन्दा राम्रो लागेको छ ।’ पहिले आइसकेका र कन्याममा घुम्ने तथा वनभोज खाएर गएका ब्यक्तिहरुलाई कन्यामको रमणीय वातावरणले पुनः वनभोज कार्यक्रम लिएर आउने मन तान्ने गरेको छ । धरानको चतारा लाइनका प्रमिला राई भन्छिन्–‘धनकुटाको भेडेटार भन्दा सुन्दर भएकाले हामी समुह बनाएर एक पटक कन्याम आउने गरेका छौ ।’ उनी भन्छिन्–‘सबै दृष्टिकोणले सुन्दर, रमणीय र आनन्दमय स्थल भएपनि वनभोज खान पानीको अभाव भएकाले चाँडै समस्या गर्नुपर्छ ।’

‘वनभोज स्थलको पैसा तिरेबापत सयलिटर पानी पाएको भएपनि त्यति पानीले वनभोज खान नपु्ग्ने र अरु पाँचसय बराबरको पानी खरिद गर्नुपर्ने बाध्यता रहेकाले केही समस्या अएपनि अरु सबै ठिक भएको उनी बताउँछिन् ।  वातावरणीय रमाइलोपनसँगै कन्याममा वनभोज खान आउनेले घोडा चडेर घुम्न पाउँदा पनि खुशी लागेको बताएका छन् । यहाँ आएका पर्यटकलाई सशुल्क घोडामा चडाएर घुमाउन २० देखि ३० वटा घोडा, घोडा ब्यवसायीहरुले ल्याएका हुन्छन् । कन्याममा वनभोज खान आउनेका लागि सशुल्क रुपमा वनभोजस्थल, पानी, पार्किङस्थल र शौचालय उपलब्ध गराइदै आएको छ ।
घोडामा चढ्न पर्यटकलाई भ्याइनभ्याइ
फिक्कलका राजु प्रधानलाई दिनभर फुर्सद छैन । घोडामा राखेर पर्यटक डुलाउने उनको काम हो । विहान सवेरैदेखि उनी कन्यामका विभिन्न ठाउँमा पर्यटक डुलाइरहेका भेटिन्छन् ।  चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा पर्यटक रमाउने साधन बनेको छ । घोडा चढेर पर्यटक रमाएका त छन् नै, घोडावालले रोजगारी पनि पाएका छन् । ‘फुर्सदको समय सदुपयोग भएको छ’, प्रधान भन्छन्, ‘दिनभरको कमाई पनि राम्रै छ ।’ फिक्कल–६ का आशिष लेप्चा दिनभर घोडा डुलाउँदा ७ सयदेखि १ हजारसम्म कमाउँछन् ।

हरेक वर्ष भदौको दोस्रो सातादेखि पुस अन्तिमसम्म घोडासँगै उनी कन्याममा पर्यटक डुलाउन व्यस्त हुन्छन् ।  ‘घोडाले सामान ढुवानी गर्न मद्दत पु¥याएको त छ नै’, उनी भन्छन्, ‘पर्यटक लोभ्याउने साधन बनेको छ ।’ दैनिक हजारौंको संख्यामा आउने पर्यटक डुलाउनका लागि ४० जना घोडावालले यहाँ रोजगारी पाएका छन् । कन्यामका डाँडाकाँडा पु¥याउने, चियाबारी घुमाउने दूरीको हिसाबले एक पर्यटकबाट उनीहरु २० रुपैयाँदेखि ५० रुपैयाँसम्म पैसा लिन्छन् ।

फिकनिक खान कात्तिक पहिलो सातादेखि नै कन्याममा घुइँचो लाग्ने गरेको छ । यहाँ बनभोज खानकै लागि पोखरा, उदयपुर, धनुषा, दाङ, भोजपुर, पाल्पा, सुनसरी, मोरङ, कैलाली, झापा, मोरङलगायत भारतको दार्जीलिङ, सिक्किम, जलपाइगुडी, मिरिक लगायतका ठाउँबाट पर्यटकहरु आउने गरेका छन् । ‘एकपटक नचढी कोही फर्केका छैनन्’, पश्चिम कैलालीदेखि दार्जीलिङसम्मका सयौं पर्यटकलाई घोडामा चढाएर घुमाइसकेका लेप्चा भन्छन्, ‘घोडा पर्यटकको रोजाइ नै बनेको छ ।’

धरानका भेषराज अधिकारीले जीवनमा पहिलोपटक घोडामा चढेर आनन्द लिए । ‘यातायात नचल्ने ठाउँमा उहिले भद्रभलाद्मी र प्रधानपञ्चहरु घोडामा सयर हुन्थे’, फिकनिक खान आएका अधिकारीले भने, ‘घोडामा चढ्दाको मजा बेग्लै हुँदोरहेछ ।’ नेपालमा घोडाको प्रयोग केही वर्षमै घट्दै जाँदा यो जनावर लोप हुन थालेकोले संरक्षणका लागि पर्यटक घुमाउन प्रयोग गरिएको हो । ‘घोडाको संरक्षण गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ’, स्थानीय कमला पोखरेल भन्छिन्, ‘ घोडाबाट स्थानीयले रोजगारी पनि पाएका छन् । उनका अनुसार कन्याममा दैनिक करिब १० हजारको हाराहारीमा फिकनिक खान पर्यटक आउँछन् । अधिकांश पर्यटकले घोडा चढ्ने गरेको उनी बताउँछिन् ।

बुध, जेष्ठ १७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खोज खबर समाचार

Like us On Facebook

Follow Us On Twitter